काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री पद सम्हालेपछि छिमेकी मुलुक भारतको यो उनको पहिलो राजकीय भ्रमण हो।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिउँसो ३ः४५ बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।
विमानस्थलबाट उनी सिधै होटल ताजमहल पुग्नेछन्। होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी हुनेछन्।
भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते अपराह्न ४ः५० बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस