२०८३, मंसिर ९ गते

मंगलवार, मंसिर ९ गते २०८३

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै, हरि–हर मिलनको धार्मिक उत्सव

सोमवार, मंसिर ८ २०८३०८:२०

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप तथा ध्यान गरी देशभर श्रद्धापूर्वक मनाइँदै छ।

धार्मिक मान्यताअनुसार यस दिन नदी तथा पवित्र जलाशयमा स्नान गरी भगवान् विष्णुको पूजा, जप, ध्यान र दान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ। वैकुण्ठ चतुर्दशीका अवसरमा भगवान् विष्णुको आराधना गर्दै रातभर जाग्राम बस्ने परम्परासमेत रहेको छ।

वैकुण्ठ चतुर्दशीको सम्बन्ध भगवान् शिव र विष्णु दुवैसँग जोडिएको मानिन्छ। शिवसँग सम्बन्धित चतुर्दशीलाई शिववैकुण्ठ र विष्णुसँग सम्बन्धित चतुर्दशीलाई विष्णुवैकुण्ठ भनिन्छ। शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी तथा व्रत र उपवासका लागि रातदिन अरुणोदयले युक्त चतुर्दशीलाई उत्तम मानिएको छ।

भगवान् विष्णुका अनेक नाममध्ये वैकुण्ठ पनि एक हो। कुण्ठारहित ज्ञान वा स्थानको आश्रय लिने तथा संसारको सञ्चालन र संरक्षण गर्ने शक्तिका रूपमा भगवान् विष्णुलाई वैकुण्ठ नामले सम्बोधन गरिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। महाभारतको शान्ति पर्वमा पनि भगवान् विष्णुका विभिन्न नाम र तिनका अर्थबारे चर्चा गरिएको छ।

पौराणिक मान्यताअनुसार जगत्को सृष्टि गर्ने क्रममा भगवान् विष्णुले पृथ्वीलाई जलसँग, आकाशलाई वायुसँग र वायुलाई तेजसँग सन्तुलित रूपमा संयोजन गर्नुभएको थियो। यही सृष्टि व्यवस्थापनसँग जोडिएर उहाँको नाम वैकुण्ठ रहन गएको धार्मिक विश्वास छ।

यस दिन विधिपूर्वक पूजा गर्न नसक्नेले भगवान् विष्णुको नाम स्मरण मात्र गरे पनि पुण्य प्राप्त हुने र आपत्–विपत्बाट मुक्ति मिल्ने विश्वास गरिन्छ। भगवान् विष्णुका नाम तथा स्तुतिको स्मरणले दुःखबाट पार पाउन सकिने प्रसङ्ग महाभारतको शान्ति पर्वमा समेत उल्लेख छ।

धर्मराज युधिष्ठिरले भीष्मसँग भगवान् विष्णुको महिमा र स्तुतिबारे जिज्ञासा राखेको तथा भीष्मले विष्णुको स्तुति र जपबाट मानिसले दुःखबाट मुक्ति पाउन सक्ने उपदेश दिएको धार्मिक ग्रन्थमा वर्णन छ। भीष्मले गरेको विष्णु स्तुतिसँग सम्बन्धित यस अवधिलाई आजैदेखि भीष्मपञ्चकका रूपमा पनि मनाउने गरिन्छ।

नेपालका विभिन्न धार्मिक स्थल र नदीहरूको सम्बन्धसमेत भगवान् विष्णुसँग जोडिएको पाइन्छ। गण्डकी नदी, दामोदर कुण्ड तथा काठमाडौं उपत्यकाको विष्णुमती नदीलाई विष्णुसँग सम्बन्धित पवित्र धार्मिक स्थलका रूपमा लिइन्छ। बूढानीलकण्ठमा रहेको भगवान् विष्णुको मूर्ति धार्मिक आस्था र कलात्मकताका दृष्टिले पनि प्रसिद्ध छ।

धार्मिक मान्यताअनुसार हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णुले त्यस अवधिमा संसारको सञ्चालनको जिम्मेवारी भगवान् शिवलाई सुम्पनुभएको थियो। वैकुण्ठ चतुर्दशीका दिन भगवान् शिवले पुनः विष्णुलाई कार्यभार सुम्पेर कैलाश फर्किने विश्वास गरिन्छ।

पण्डित बालमुकुन्द देवकोटाका अनुसार आजकै दिन भगवान् विष्णु वैकुण्ठधाम जानुभएको पौराणिक मान्यता छ। यही कारण वैकुण्ठ चतुर्दशीलाई भगवान् शिव र विष्णुको मिलन अर्थात् हरि–हर मिलनको पर्वका रूपमा समेत मनाउने गरिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij