नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११, बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बुधबार (मंसिर ९) राति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा राति १०ः३५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ का १६ वर्षीय रविन चौधरी, २० वर्षीय रिजन चौधरी, २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा, १९ वर्षीय युवराज चौधरी र २६ वर्षीय सुमेन्द्र चौधरी घाइते भएका छन्।
त्यसैगरी मध्यबिन्दु नगरपालिका–१० का २१ वर्षीय आदिश आले, १८ वर्षीय अश्विन चौधरी, २० वर्षीय निर्मल चौधरी, १५ वर्षीय प्रिन्स विक, ४० वर्षीय खेमनारायण चौधरी र २६ वर्षीय घनश्याम चौधरी पनि घाइते भएका छन्।
घाइतेमध्ये रविन, रिजन, विशाल, श्याम, गुल्सन र युवराज चौधरीलाई राति ११ः५५ बजे थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो। अश्विन चौधरी र निर्मल चौधरीलाई पनि सोही अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस