२०८३, मंसिर १३ गते

शनिवार, मंसिर १३ गते २०८३

त्रिविको अतिक्रमित जग्गा खाली गर्न सातदिने अन्तिम अल्टिमेटम, अटेर गरे बल प्रयोग गरिने

शुक्रवार, मंसिर १२ २०८३०४:४१

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा तथा भवन खाली गर्न सम्बन्धित व्यक्ति, संघसंस्था र निकायलाई सात दिनको अन्तिम समयसीमा दिएको छ। तोकिएको अवधिभित्र जग्गा खाली नगरे नेपाल सरकारको सहयोग लिएर बल प्रयोग गरी अतिक्रमण हटाउने चेतावनी विश्वविद्यालयले दिएको छ।

त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले मंसिर ८ गते कीर्तिपुरस्थित विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानलाई छुट्टाछुट्टै पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो। पत्र प्राप्त गर्नेमा बुढाथोकी नर्सरी, थापा नर्सरी, रसकटर पेट्रोल पम्प र राधास्वामी सत्संग व्यासलगायत छन्।

विश्वविद्यालयले यसअघि कार्यकारी परिषद्को निर्णयअनुसार वैशाख ४ गते गोरखापत्रमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो। तर, निर्धारित समय सकिँदासमेत सम्बन्धित पक्षले जग्गा खाली नगरेपछि पुनः अन्तिम ताकेता गरिएको हो।

पत्र प्राप्त भएको मितिले सात दिनभित्र जग्गा खाली गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्न भनिएको छ। अन्यथा सरकारी निकायको सहयोगमा आवश्यक बल प्रयोग गरेर भए पनि अतिक्रमण हटाइने त्रिविको चेतावनी छ।

२४ सय रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको २०८१ को प्रतिवेदनले विश्वविद्यालयको करिब २४ सय रोपनी जग्गा अतिक्रमण तथा अनधिकृत भोगचलनमा रहेको औँल्याएको छ।

प्रतिवेदनअनुसार कीर्तिपुर परिसरभित्र विश्वविद्यालयको कुल ५०५०–३–१–१ रोपनी जग्गा रहेकोमा दुई हजार रोपनीभन्दा बढी विभिन्न संघसंस्था तथा निकायको प्रयोगमा छ।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार प्रतिवेदनमा उल्लेख भएका तथा अनधिकृत रूपमा प्रयोग भइरहेका जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको छ। कतिपय संस्थासँग कानुनी सम्झौता गरेर जग्गा प्रयोग गर्न दिने र अनधिकृत रूपमा कब्जा गरिएका स्थान खाली गराउने विश्वविद्यालयको तयारी छ।

सरकारी तथा शैक्षिक संस्थासँग कानुनी सम्झौताको तयारी

त्रिविको जग्गा निजी संघसंस्था तथा व्यक्तिले मात्र नभई विभिन्न सरकारी निकायले समेत लामो समयदेखि प्रयोग गर्दै आएका छन्। सञ्चालनमा रहेका शैक्षिक संस्था तथा सार्वजनिक निकायका हकमा भने समन्वय र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्ने विश्वविद्यालयको योजना छ।

प्रवक्ता भण्डारीका अनुसार त्रिवि क्रिकेट रंगशाला, ल्याबोरेटरी स्कुल, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौं अनुसन्धान तथा शिक्षा केन्द्र (केसीआरई) र कीर्तिपुर नगरपालिकालगायतसँग छलफल गरी कानुनी सम्झौतामार्फत जग्गा उपयोगको व्यवस्था मिलाउने तयारी भइरहेको छ।

उनका अनुसार आफूखुसी जग्गा कब्जा गरी बसेका व्यक्ति, संघसंस्था तथा निकायलाई भने जग्गा खाली गर्न पत्राचार गरिएको छ।

कुन संस्थाले कति जग्गा प्रयोग गरेका छन् ?

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनअनुसार विभिन्न संस्था तथा निकायले प्रयोग गरिरहेको जग्गाको विवरण यस्तो छ :

संस्था तथा निकाय

प्रयोगमा रहेको जग्गा

ल्याबोरेटरी माध्यमिक विद्यालय

१०९ रोपनी

राधास्वामी सत्संग व्यास नेपाल

१५ रोपनी

गणतन्त्र स्तम्भ निर्माण

६० रोपनी

नेपाल प्राध्यापक संघ

६ रोपनी १२ आना

प्लानेटोरियम, अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समिति

१६० रोपनी

कृषि बागवानी केन्द्र

२८१ रोपनी

आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

२५ रोपनी

नेपाल नेत्रज्योति संघ

१० रोपनी

काठमाडौं खानेपानी बोर्ड तथा खानेपानी तथा ढल निकाससम्बन्धी निकाय

१०७ रोपनी

यसका अतिरिक्त नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, प्रहरी वृत्त बल्खु, कालीमाटी तथा कीर्तिपुर, रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट संघ, कीर्तिपुर नगरपालिका, गिट्टी–बालुवा डिपो र नेपाल विद्युत् प्राधिकरणको कीर्तिपुर वितरण केन्द्रले समेत त्रिविको जग्गामा कार्यालय तथा संरचना सञ्चालन गरिरहेका छन्।

ग्लोबल आईएमई बैंक र नेपाल बैंक लिमिटेडले भने त्रिविको जग्गा प्रयोग गरेबापत भाडा तिर्दै आएका छन्।

७०५ रोपनी जग्गा फिर्ता ल्याइएको मन्त्रीको दाबी

यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गत कात्तिक १८ गते सामाजिक सञ्जालमार्फत त्रिविको अनधिकृत रूपमा कब्जा गरिएको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको दाबी गरेका थिए।

मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै विश्वविद्यालयको सम्पत्ति संरक्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले उक्त जग्गा फिर्ता ल्याइएको जानकारी दिएका थिए। तर, उनले कुन स्थानको कति जग्गा फिर्ता ल्याइएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेका थिएनन्।

कीर्तिपुरदेखि पुल्चोकसम्म जग्गा अतिक्रमण

सरकारले २०८१ सालमा त्रिविको जग्गा खोजबिनका लागि छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनअनुसार कीर्तिपुरस्थित केन्द्रीय कार्यालय आसपास करिब एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको छ।

त्यस्तै, त्रिविका विभिन्न क्याम्पस तथा अन्य स्थानमा थप एक हजार रोपनी र ललितपुरको पुल्चोक क्षेत्रमा विश्वविद्यालयको नाममा रहेको करिब ४०० रोपनी जग्गा लामो समयदेखि विश्वविद्यालयको प्रत्यक्ष भोगचलनबाहिर रहेको उल्लेख छ।

समितिले सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न व्यक्ति तथा संस्थामाथि प्रहरी, प्रशासनलगायत राज्यका निकायमार्फत आवश्यक कारबाही गरी विश्वविद्यालयको सम्पत्ति फिर्ता ल्याउन सुझाव दिएको थियो।

विश्वविद्यालयले अहिले सोही प्रतिवेदनलाई आधार बनाएर अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान अघि बढाएको जनाएको छ। सातदिने अल्टिमेटमपछि सम्बन्धित पक्षले जग्गा खाली गर्छन् वा सरकारी सहयोगमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढ्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij