सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, भावी आवश्यकता र प्राथमिकता निर्धारण गर्ने उद्देश्यले राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै राष्ट्रिय ऊर्जा नीति तर्जुमा गर्न उच्चस्तरीय समिति गठन गरेका हुन्।
जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा गठित समितिमा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि तथा विज्ञहरूलाई समेटिएको छ। समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको छ।
समितिले नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भविष्यमा बढ्दै जाने माग, उपलब्ध स्रोतसाधन र विकासका सम्भावनाको अध्ययन गरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत प्राथमिकता निर्धारण गर्नेछ।
नयाँ नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत र अन्तरदेशीय व्यापारलाई एकीकृत रूपमा अघि बढाउने सरकारको लक्ष्य छ। साथै, ऊर्जा क्षेत्रको दिगो विकास, लगानी प्रवर्द्धन तथा दीर्घकालीन रणनीति कार्यान्वयनका लागि स्पष्ट नीतिगत आधार तयार हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस