बेलायतले आफ्नो परमाणु पनडुब्बीको मर्मतसम्भार तथा नौसैनिक पूर्वाधारको आधुनिकीकरणका लागि आगामी पाँच वर्षमा ८ अर्ब पाउन्ड लगानी गर्ने भएको छ।
बेलायतको रक्षा मन्त्रालयले बिहीबार नौसैनिक तथा रक्षा पूर्वाधारसम्बन्धी कम्पनी ब्याबककसँग यससम्बन्धी पाँचवर्षे सम्झौता गरिएको घोषणा गरेको हो।
सम्झौताअन्तर्गत रोयल नेभीका परमाणु पनडुब्बीको मर्मतसम्भार, नौसैनिक अखडाको स्तरोन्नति तथा सामुद्रिक तालिम र स्वायत्त प्रविधिको क्षमता विकास गरिनेछ। विशेषगरी पनडुब्बी मर्मतमा हुने ढिलाइ कम गर्दै तिनलाई छिटो समुद्रमा परिचालन गर्न सक्ने बनाउनु सम्झौताको प्रमुख उद्देश्य रहेको छ।
बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले परमाणु पनडुब्बीलाई राष्ट्रिय सुरक्षाको आधारस्तम्भका रूपमा व्याख्या गर्दै यस क्षेत्रमा लगानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्। प्रधानमन्त्री एन्डी बर्नहमले पनि यसले राष्ट्रिय सुरक्षा सुदृढ बनाउनुका साथै रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने बताएका छन्।
सम्झौतामार्फत करिब तीन हजार नयाँ दक्ष रोजगारी सिर्जना गरिनेछ भने दुई हजार ५०० प्रशिक्षार्थी तथा स्नातक तहका अवसर उपलब्ध गराइनेछन्। यी अवसर मुख्यतः प्लेमाउथ, क्लाइड र ब्रिस्टल क्षेत्रमा केन्द्रित हुनेछन्।
त्यसैगरी, बेलायतको आपूर्ति शृंखलामा २ अर्ब ४० करोड पाउन्ड खर्च गरिनेछ। यसमध्ये करिब एक अर्ब पाउन्ड साना तथा मझौला व्यवसायका लागि छुट्ट्याइएको छ।
रक्षामन्त्री स्ट्रिटिङले परमाणु प्रतिरोधक क्षमता सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आवश्यक परे अन्य सरकारी विभागको बजेटबाट समेत रकम व्यवस्थापन गर्न सकिने बताएका छन्।
शीतयुद्धको अन्त्यपछि नौसैनिक पूर्वाधारमा गरिएको ठूलो लगानी कार्यक्रममध्ये यो सम्झौता पनि एक हो। यसबाट बेलायतको परमाणु प्रतिरोधक क्षमता सञ्चालन, पनडुब्बी मर्मतसम्भार र आवश्यक पूर्वाधार थप मजबुत हुने रक्षा मन्त्रालयको अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस