२०८३, आश्विन १९ गते

सोमवार, आश्विन १९ गते २०८३

‘चोलेन्द्र कनेक्सन’को आशंकापछि दीपक भट्टलाई सारियो सिन्धुपाल्चोक

नक्खुमा नअटेका दीपक भट्टलाई खचाखच सिन्धुपाल्चोक

सोमवार, आश्विन १९ २०८३०७:४६

काठमाडौं । व्यवसायी दीपक भट्टलाई तीन महिनामै दोस्रोपटक कारागार सरुवा गरिएको छ। शनिबार राति करिब ११ बजे उनलाई ललितपुरस्थित नक्खु कारागारबाट सिन्धुपाल्चोक लगिएको हो।

यसअघि डिल्लीबजार कारागारमा रहेका भट्टलाई गत असार १९ गते नक्खु पठाइएको थियो। अहिले भने नक्खु कारागारमा स्थान अभाव भएको कारण देखाउँदै उनलाई सिन्धुपाल्चोक सारिएको कारागार प्रशासनले जनाएको छ।

तर, सिन्धुपाल्चोक कारागारमा पनि कैदीबन्दीको चाप अत्यधिक छ। सात जना महिला कैदीबन्दीका लागि निर्माण गरिएको भवनमा अहिले करिब १३० जना कैदीबन्दी राखिएको कारागार स्रोतले जनाएको छ। भट्टलाई पनि अन्य कैदीबन्दीसँगै राखिएको छ।

‘सात जना राख्न बनाएको ठाउँमा अहिले १३० जना छन्। यहाँ एक्लै राख्न सम्भव छैन। खचाखच छ,’ कारागार स्रोतले भन्यो।

२०७२ सालको भूकम्पपछि पुरुष कैदीबन्दी राखिएको भवन भत्किएसँगै महिला कैदीबन्दीका लागि बनाइएको उक्त भवनमा पुरुष कैदीबन्दी राख्न थालिएको हो। स्थान अभावका कारण सिन्धुपाल्चोकले समेत महिला कैदीबन्दीलाई अन्य जिल्लामा पठाउँदै आएको छ।

‘चलखेल’को आशंकामा सरुवा भएको दाबी

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका भट्टलाई यसअघि डिल्लीबजारबाट नक्खु सारिएको थियो। अहिलेको सरुवामा भने स्थान अभावबाहेक अन्य कारण पनि रहेको सुरक्षा स्रोतको दाबी छ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार नक्खुमा रहँदा भट्टको ‘चलखेल’ बढेको र बिचौलियामार्फत पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासम्म सम्पर्क स्थापित भएको सूचनापछि उनलाई टाढाको कारागारमा सारिएको हो।

भट्ट र जबराबीच प्रत्यक्ष सम्पर्क भने नदेखिएको ती अधिकारीले बताए। तर भट्टसँग सम्बन्धित भनिएका इनाम सापकोटाले नक्खु कारागारको ल्यान्डलाइनबाट जबरासँग पटक–पटक कुराकानी गरेको प्रहरीको दाबी छ।

सापकोटालाई केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनको मोबाइल परीक्षणका क्रममा आर्थिक कारोबार तथा विभिन्न व्यक्तिसँगको सम्पर्कसम्बन्धी विवरण भेटिएको प्रहरी स्रोतको दाबी छ।

कारागार व्यवस्थापन विभागका एक अधिकारीले पनि नक्खुबाट भएको टेलिफोन सम्पर्क र त्यससँग जोडिएको गतिविधिपछि भट्टलाई टाढा सारिएको हुनसक्ने बताए। यद्यपि, भट्टको सरुवाको आधिकारिक कारण भने नक्खु कारागारमा स्थान अभाव नै उल्लेख गरिएको छ।

भट्टलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले समेत अस्वीकार गरिसकेकाले उनी तत्काल कारागारमुक्त हुने अवस्था छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij