काठमाडौं । सडक बोर्ड नेपालले रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम आवश्यक योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक आवेदन दिन बोर्डले आग्रह गरेको हो ।
कार्यकारी निर्देशक पदका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।
आवेदनका साथ वैयक्तिक विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता तथा कार्यअनुभवसम्बन्धी प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै, सडक बोर्डको उद्देश्यअनुसार कार्यकारी निर्देशकका रूपमा आफूले पुर्याउन सक्ने योगदान, कार्यान्वयन रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र छुट्टै सिलबन्दी खाममा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारी निकायमा कार्यरत कर्मचारीले सम्बन्धित निकायको पूर्वस्वीकृति लिनुपर्नेछ भने इन्जिनियरिङतर्फका उम्मेदवारले नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
गैरनेपाली नागरिक, ३५ वर्ष उमेर पूरा नभएका तथा ६० वर्ष नाघेका व्यक्ति आवेदनका लागि योग्य हुने छैनन् । त्यस्तै, प्रचलित कानुनबमोजिम कालोसूचीमा परेका व्यक्ति पनि उम्मेदवार बन्न नपाउने बोर्डले जनाएको छ ।
भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागूऔषध बिक्री–वितरण, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका तथा तीन वर्ष वा सोभन्दा बढी कैद सजाय भोगेका व्यक्तिले पनि आवेदन दिन पाउने छैनन् ।
कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई समेत उम्मेदवार हुन अयोग्य तोकिएको छ ।
खुला प्रतिस्पर्धाबाट छनोट हुने कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ । सेवा–सुविधा तथा नियुक्तिसम्बन्धी अन्य व्यवस्था सडक बोर्ड ऐन, २०५८ तथा सडक बोर्ड नियमावली, २०५९ बमोजिम हुने जनाइएको छ ।
दरखास्त फारम सडक बोर्ड नेपालको मीनभवनस्थित कार्यालयमा बुझाउनुपर्नेछ । आवेदनको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिनसम्म आवेदन बुझाउन सकिने बोर्डले जनाएको छ ।
कार्यकारी निर्देशक पदको आवेदन, योग्यता तथा छनोट प्रक्रियासम्बन्धी विस्तृत जानकारी बोर्डको आधिकारिक वेबसाइट तथा सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस