नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा यात्रुसँग सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही गरिने चेतावनी दिए। सरकारले दसैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ।
यात्रु तथा मालवाहक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच समन्वय गरिएको छ।
महासङ्घले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य संस्थालाई यात्रुसँग नम्र व्यवहार, सहज टिकट वितरण र सुरक्षित यात्राको सुनिश्चितता गर्न निर्देशन दिएको छ। अग्रिम टिकट बुकिङमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्नेछ।
दसैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरसहित ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने आवतजावतमा रोक नलगाइने जनाइएको छ।
त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। सडकको प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहनेछ।
काठमाडौंका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ। महासङ्घले गोङ्गबु, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा समेत आफ्ना प्रतिनिधि खटाउने जनाएको छ।
यसैबीच, चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको फिटनेस परीक्षणलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने महासङ्घले जनाएको छ।
प्रतिक्रिया दिनुहोस