काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ । यसअघि साँझ ५ बजेसम्मका लागि निर्धारित मतदान अब साँझ ७ बजेसम्म सञ्चालन हुने भएको छ ।
नेपाली कांग्रेस नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यका अनुसार मतदानस्थलमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन लागेकाले समय थप गरिएको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन गर्नुपर्नेछ ।
विभिन्न पद र समूह गरी २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो । प्रतिनिधिहरूको मतदानमा सहजता कायम गर्न समय थप गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस