काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशन प्रक्रियामा सहभागी नभएका तथा निर्वाचनमा पराजित भएका नेताकार्यकर्तालाई समेत समेटेर अघि बढ्ने बताएका छन् ।
महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्दै सबै नेताकार्यकर्तालाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
महाधिवेशन प्रक्रियामा सहभागी नभएको देउवा समूहलाई लक्षित गर्दै उनले पार्टीको प्रक्रियाबाहिर रहेका नेताहरूलाई समेट्ने प्रयास गरिने बताए । यद्यपि, कसैले छुट्टै पार्टी खोल्ने निर्णय गरेमा त्यो उनीहरूको व्यक्तिगत छनोट हुने उनको भनाइ थियो ।
‘पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ । हामी उहाँहरूलाई समेट्ने कोसिस गर्छौं । कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छौं,’ थापाले भने ।
उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित हुने नेताहरूलाई पनि पार्टीमा उचित जिम्मेवारी दिएर अघि बढाइने बताए । कांग्रेसका प्रत्येक नेता तथा कार्यकर्ता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार केन्द्रीय समितिमा ल्याउने वा अन्य जिम्मेवारी दिने बताए ।
आफू पनि विगतमा पार्टीको निर्वाचनमा पराजित भएर पुनः निर्वाचित भएको अनुभव सुनाउँदै थापाले हारजितलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे ।
‘म यही ठाउँमा आएर एकदमै कम मत ल्याएर प्रतिस्पर्धामा हारेको हुँ । फेरि पनि पार्टीमै बसेँ, काम गरेँ, दुःख गरेँ । अर्को पटक धेरै मत ल्याएर निर्वाचित भएँ,’ उनले भने ।
निर्वाचनमा विजय वा पराजय हुँदैमा राजनीतिक निर्णय र व्यवहार बदलिनु उचित नहुने थापाको भनाइ थियो । हारजितलाई स्वाभाविक रूपमा लिएर सबैलाई समेट्दै पार्टीलाई एकताबद्ध बनाउने उनले संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस