२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

सिड्नी विमानस्थलमा शुक्रबार सुरक्षा जाँचका कर्मचारीको हडताल, यात्रुलाई ढिलाइ हुन सक्ने

बिहिवार, आश्विन २९ २०८३१०:०७

सिड्नी । अस्ट्रेलियाको सिड्नी विमानस्थलबाट शुक्रबार यात्रा गर्ने यात्रुले सुरक्षा जाँचमा ढिलाइको सामना गर्नुपर्ने हुन सक्छ । तलब र रोजगारीका सर्तमा विवाद जारी रहेपछि सुरक्षा जाँचको जिम्मेवारी सम्हाल्दै आएको सर्टिस् कम्पनीका सयौँ कर्मचारीले अक्टोबर १६ मा हडताल गर्ने घोषणा गरेका छन् ।

ट्रान्सपोर्ट वर्कर्स युनियन (टीडब्लूयू) का अनुसार हडताल बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म हुनेछ । हडताल घरेलु तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलमा लागू हुने जनाइएको छ ।

कर्मचारीहरूले पूर्णकालीन रोजगारीका अवसर बढाउन, कामको तालिका न्यायोचित बनाउन तथा आंशिक समय काम गर्ने कर्मचारीको कार्यघण्टा कटौती रोक्न माग गरेका छन् । अनिश्चित कार्यतालिका र रोजगारीको असुरक्षाले कर्मचारी प्रभावित भएको युनियनको भनाइ छ ।

युनियनले सिड्नी विमानस्थलले ठूलो नाफा कमाइरहेको अवस्थामा यात्रुको सुरक्षा सुनिश्चित गर्ने कर्मचारीलाई उचित पारिश्रमिक र सुरक्षित रोजगारी उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

टीडब्लूयूका राष्ट्रिय सचिव माइकल केनले विमानस्थलले ठेक्का प्राप्त गर्ने कम्पनीहरूलाई लागत घटाउन दबाब दिँदा कर्मचारीको तलब तथा सुविधामा असर परेको आरोप लगाएका छन् ।

यसैबीच, सिड्नी विमानस्थलका प्रवक्ताले शुक्रबारको औद्योगिक कारबाहीबारे आफूहरू जानकार रहेको र यात्रुमा पर्न सक्ने असर कम गर्न सम्बन्धित पक्षसँग मिलेर काम गरिरहेको बताएका छन् ।

विमानस्थलले यात्रुलाई यात्राका लागि अतिरिक्त समय छुट्याउन र सम्बन्धित विमानसेवा कम्पनीबाट प्राप्त हुने सूचनामा ध्यान दिन आग्रह गरेको छ ।

सम्बन्धित पक्षबीच वार्ता जारी रहेकाले हडतालको अवस्था परिवर्तन हुन सक्ने बताइएको छ । शुक्रबार सिड्नी विमानस्थलबाट यात्रा गर्ने यात्रुलाई विमानसेवा कम्पनीको आधिकारिक सूचना तथा मोबाइल एपमार्फत उडानको अवस्था जाँच गर्न र आवश्यकताअनुसार विमानस्थलमा केही अगाडि पुग्न सुझाव दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij