काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो रकम साउन महिनाको तुलनामा करिब ६ अर्ब रुपैयाँ बढी हो।
चालु आर्थिक वर्षको साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्षको भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।
वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षको भदौसम्म ७८ हजार ३२० नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् भने ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको थियो। यसअनुसार अन्तिम श्रम स्वीकृति लिनेको संख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ।
प्रतिक्रिया दिनुहोस