विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा. डा. सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास र सतर्कता आवश्यक रहेको बताएकी छन् ।
विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपालले पोलियो उन्मूलनमा हासिल गरेको उपलब्धि उल्लेखनीय भए पनि त्यसलाई दीर्घकालसम्म कायम राख्न निरन्तर प्रयास गर्नुपर्ने बताएकी हुन् ।
विश्वको कुनै पनि ठाउँमा पोलियो भाइरसको सङ्क्रमण रहँदासम्म नेपालमा पनि यो रोग भित्रिने जोखिम रहने उल्लेख गर्दै उनले खुला सिमाना र मानिसको आवागमनका कारण निरन्तर सतर्कता अपनाउनुपर्नेमा जोड दिइन् ।
डा. श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न पाँच प्रमुख प्राथमिकता औँल्याएकी छन् । उनका अनुसार पहिलो प्राथमिकता नियमित खोप सेवालाई प्रभावकारी बनाउनु हो । विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्र र समुदायका प्रत्येक बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।
त्यस्तै, पोलियो भाइरसको समयमै पहिचानका लागि तीव्र लुलोपनको निगरानी प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । पोलियो भाइरस पहिचान भएको अवस्थामा शीघ्र र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न नियमित निगरानी समीक्षा आवश्यक रहेको उनले उल्लेख गरिन् ।
डा. श्रेष्ठले पोलियोसम्बन्धी विश्वव्यापी वित्तीय सहयोगको परिवर्तित अवस्थालाई ध्यानमा राख्दै खोपबाट बचाउन सकिने रोगको निगरानी, प्रयोगशाला सेवा, खोप कार्यक्रम तथा प्रकोप प्रतिकार्यका लागि आवश्यक क्षमता र संरचनाको संरक्षण गर्नुपर्ने बताइन् ।
उनले पोलियो उन्मूलनका क्रममा प्राप्त अनुभव, विशेषज्ञता र संरचनाको सदुपयोग गर्दै अन्य खोपबाट बचाउन सकिने रोगको निगरानी तथा प्रतिकार्य प्रणालीलाई समेत सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।
नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकालाई मुखबाट खुवाइने (ओरल) र सुईमार्फत दिइने (इन्जेक्टेबल) दुवै प्रकारका पोलियो खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस