पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन्।
चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन उनी गत बिहीबार चीन गएकी थिइन्। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषयवस्तु रहेको उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो।
सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सहभागी भण्डारीले शनिबार सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनको प्रभाव, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा आफ्नो धारणा राखेकी थिइन्।
नेपालमा हालै भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको उल्लेख गर्दै उनले नेपालको जलवायु न्यायसम्बन्धी मागलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी थिइन्।
उनले विश्वव्यापी शासन प्रणाली जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै हिमालय क्षेत्रलाई जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग सम्बन्धित साझा प्राकृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएकी थिइन्।
भण्डारीले नेपाल, चीन, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली तथा विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न आवश्यक रहेको बताएकी थिइन्।
त्यस्तै, शक्ति नभई अन्तर्राष्ट्रिय कानुनका आधारमा राष्ट्रहरूबीचको सम्बन्ध निर्देशित हुने, सबै राष्ट्रको आवाजको सम्मान हुने र कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाउने विश्वव्यवस्थाको पक्षमा नेपाल रहेको उनले उल्लेख गरेकी थिइन्।
संयुक्त राष्ट्रसङ्घलाई समकालीन विश्वको विविधता र आकाङ्क्षा प्रतिबिम्बित गर्ने प्रभावकारी संस्थाका रूपमा सुदृढ बनाउनुपर्ने धारणा पनि उनले सम्मेलनमा राखेकी थिइन्।
प्रतिक्रिया दिनुहोस