२०८३, कार्तिक १० गते

सोमवार, कार्तिक १० गते २०८३

बंगालको खाडीमा चक्रवात ‘अर्नब’ सक्रिय, भारतका तटीय क्षेत्रमा उच्च सतर्कता

सोमवार, कार्तिक १० २०८३११:३३

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली चक्रवाती आँधी ‘अर्नब’मा परिणत भएको छ। सोमबार बिहान पश्चिमतर्फ सर्दै विकसित भएको उक्त आँधीका कारण भारतका आन्ध्र प्रदेश र ओडिसाका तटीय क्षेत्रमा भारी वर्षा, बाढी तथा डुबानको जोखिम बढेको छ।

भारतको मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान साढे ५ बजे आँधी बंगालको खाडीको पूर्वमध्य तथा आसपासको पश्चिममध्य क्षेत्रमा केन्द्रित थियो। यो अन्डमान टापुको श्री विजयपुरमबाट ५९० किलोमिटर उत्तरपश्चिम, विशाखापट्टनमबाट ६५० किलोमिटर पूर्व–दक्षिणपूर्व र काकिनाडाबाट ७३० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको थियो।

उक्त आँधी सोमबार मध्यरातसम्म शक्तिशाली चक्रवाती आँधी र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारतको मौसम विज्ञान विभागले बुधबार बिहान आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट चक्रवात जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरेको छ। त्यसबेला हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर र झोक्कासहित १४० किलोमिटरसम्म पुग्न सक्नेछ।

चक्रवातको प्रभावले आन्ध्र प्रदेश र ओडिसाका तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आन्ध्र प्रदेशका काकिनाडा, एलुरु, पूर्वी गोदावरी, पश्चिमी गोदावरी, एनटीआर र कृष्णा जिल्लामा भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै रेड अलर्ट जारी गरिएको छ। केही क्षेत्रमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

 
ओडिसाका विभिन्न जिल्लामा पनि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाइएको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ भने केही जिल्लामा विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरिएको छ।
 

चक्रवात तटमा पुग्ने समयमा समुद्री सतह बढेर होचा भूभाग डुबानमा पर्न सक्ने चेतावनी दिइएको छ। काकिनाडा र यानम आसपास सामान्य ज्वारको सतहभन्दा १ देखि १.५ मिटरसम्म समुद्री पानी बढ्न सक्ने अनुमान छ। यसले तटीय बस्तीमा बाढी र डुबानको जोखिम बढाउन सक्छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश र ओडिसाका प्रशासनले उद्धार तथा राहतको तयारी तीव्र पारेका छन्। समुद्रमा रहेका माछा मार्ने डुङ्गालाई किनारमा फर्कन निर्देशन दिइएको छ भने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij