कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन्।
अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा चामल र नुन ल्याउनसमेत कठिन हुने कर्णालीमा अहिले सडक सञ्जाल विस्तार हुनु, गाउँमा बिजुली पुग्नु र नागरिकका हातहातमा मोबाइल हुनु परिवर्तनका महत्त्वपूर्ण उदाहरण भएको बताए।
मुख्यमन्त्री शाहीले विद्यार्थी जीवनमा भोगेका कठिनाइ स्मरण गर्दै विगत र वर्तमानको अवस्थालाई तुलना गरेर सङ्घीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने धारणा राखे।
‘२०४१ सालमा यही विद्यालयमा पढ्दा चामल ल्याउन बाजुराको कोल्टी र मार्तडी जानुपर्थ्यो। बाटोमा भारी बोकेर जान्थ्यौँ र उताबाट चामल ल्याउँदा पनि आफैँ भारी बोकेर आउनुपर्थ्यो,’ उनले भने।
विद्यार्थी जीवनमा मट्टीतेलको अभाव हुँदा झरो बालेर पढ्नुपरेको स्मरण गर्दै उनले अहिले गाउँगाउँमा सडक र विद्युत् पुगेको तथा सञ्चार सेवाको पहुँच विस्तार भएको विषयलाई सबैले मनन गर्नुपर्ने बताए।
उनले भौतिक विकाससँगै सामाजिक क्षेत्रमा पनि परिवर्तन आएको उल्लेख गरे। सामाजिक सम्मान र अधिकारका क्षेत्रमा सुधार आएको बताउँदै मुख्यमन्त्री शाहीले समाजका सबै जातजाति र समुदायले अहिले सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनेको धारणा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस