काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित चार केन्द्रीय सदस्य सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवले शपथ लिन नपाउने भएका छन्।
विभिन्न अनियमितता तथा अन्य प्रकरणमा उनीहरूसँग सम्बन्धित मुद्दा किनारा नलागेकाले शपथ रोकिएको कांग्रेस स्रोतले जनाएको छ।
गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयरसमेत रहेका चालिसेविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध तीन करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ। विशेष अदालतले उक्त मुद्दामा चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरी तारेखमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो।
त्यस्तै, मोहन बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दा परेको छ। सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा दायर भएपछि उनी नागार्जुन नगरपालिकाको मेयर पदबाट स्वतः निलम्बनमा परेका थिए।
नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका उमेशचन्द्र यादव पनि अनियमिततासम्बन्धी प्रकरणमा मुछिएका छन्। उनीमाथि गाउँपालिकाको आधिकारिक लेटरप्याड, छाप र पदीय अधिकार गैरकानुनी रूपमा प्रयोग गरी कीर्ते गरेको अभियोग लागेको छ।
त्यस्तै, वैदेशिक रोजगारीका नाममा ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको आरोपमा मुछिएकी विनिता खड्का कांग्रेसको महाधिवेशनकै क्रममा पक्राउ परेकी थिइन्।
चारै जनासँग सम्बन्धित मुद्दा तथा प्रकरणको अवस्था स्पष्ट नभएसम्म उनीहरूको शपथ प्रक्रिया अघि नबढ्ने कांग्रेस स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस