नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत १४औँ खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध पावरप्लेमा मध्यम सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पावरप्लेमा एक विकेट गुमाएर ३९ रन बनाएको छ।
लुम्बिनीले पहिलो विकेटका रूपमा डार्सी सर्टलाई गोल्डेन डकमा गुमाएको हो। हाल क्रिजमा आसिफ शेख १७ र निरोशन डिकवेल्ला २२ रन बनाएर खेलिरहेका छन्।
जनकपुरका लागि ललित नारायण राजवंशीले एक विकेट लिएका छन्।
लुम्बिनीको यो चौथो खेल हो भने जनकपुरले पाँचौँ खेल खेलिरहेको छ। लुम्बिनी जारी प्रतियोगिताको एक मात्र अपराजित टोली हो।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा चितवन राइनोजसँग वर्षाका कारण अंक बाँडेको लुम्बिनीले तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो।
यता जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको जनकपुर चौथो खेलमा भने विराटनगर किंग्ससँग २ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस