२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीमा १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

शुक्रवार, कार्तिक २८ २०८३१२:२९

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ ।

परिषद्ले कात्तिक २० गते जारी गरेको सूचनाअनुसार छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछन् । यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका खेलको बन्द प्रशिक्षणसमेत सञ्चालन गरिने परिषद्ले जनाएको छ ।

१४ खेलको छनोट तालिका सार्वजनिक

सार्वजनिक तालिकाअनुसार बास्केटबल (महिला तथा पुरुष), शारीरिक सुगठन र पौडीको छनोट कात्तिक २७ गते हुनेछ । जुडोको कात्तिक २८ गते तथा सेपाकताक्रो र सुटिङको कात्तिक २९ गते छनोट गरिनेछ ।

त्यस्तै, जिम्न्यास्टिक र ई–स्पोर्ट्सको कात्तिक ३० गते तथा साइक्लिङ र खोखो (महिला तथा पुरुष) को मंसिर १ गते छनोट हुनेछ ।

कबड्डी, आर्चरी, मार्सल आर्ट्स र कुस्तीको छनोट मंसिर ४ गतेका लागि तोकिएको छ ।

सुर्खेतका विभिन्न खेलस्थलमा छनोट प्रतियोगिता

परिषद्का अनुसार जिम्न्यास्टिकको छनोट रंगशालामा, कबड्डीको कबड्डी हलमा र बास्केटबलको मुख्य रंगशालास्थित कोर्टमा हुनेछ ।

आर्चरीको छनोट राजदल सैनिक खेल मैदानमा, मार्सल आर्ट्स र कुस्तीको रंगशालामा तथा साइक्लिङको काँक्रेविहारमा सञ्चालन हुनेछ । ई–स्पोर्ट्सको छनोट होटल सिद्धार्थमा, सेपाकताक्रो र शारीरिक सुगठनको सुर्खेतमा तथा जुडोको रंगशाला परिसरमा हुनेछ ।

त्यस्तै, पौडीको छनोट रंगशालास्थित पौडी पोखरीमा, सुटिङको नेपालगञ्जमा र खोखोको नगरपालिकाको खुला मैदानमा सञ्चालन गरिनेछ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले निर्धारित तालिकाअनुसार छनोट प्रतियोगिता सञ्चालन गर्न सम्बन्धित खेल संघ तथा महासंघलाई निर्देशन दिएका छन् ।

३१ खेलका खेलाडी बन्द प्रशिक्षणमा

परिषद्ले राष्ट्रिय खेलकुदको तयारीलाई तीव्रता दिन ३१ खेलका खेलाडीका लागि बन्द प्रशिक्षण तालिका पनि सार्वजनिक गरेको छ ।

बन्द प्रशिक्षणमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल र स्क्वासलगायत खेल समेटिएका छन् ।

त्यसैगरी, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स, सेपाकताक्रो, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, सुटिङ, कुस्ती, खोखो र आईटीएफ तेक्वान्दोका खेलाडी पनि बन्द प्रशिक्षणमा रहनेछन् ।

सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्म प्रशिक्षणस्थल

बन्द प्रशिक्षणका लागि सुर्खेतको मुख्य रंगशाला, चिसापानी खेल मैदान, विभिन्न क्रिकेट मैदान, जिल्ला खेलकुद विकास समितिका खेल मैदान, रंगशालास्थित कभर्ड हल, ब्याडमिन्टन कभर्ड हल र मिनी कभर्ड हल तोकिएका छन् ।

त्यस्तै, रग्बी मैदान, काँक्रेविहार, होटल सिद्धार्थ, पौडी पोखरी, नेपालगञ्ज, सल्यानको श्रीनगरस्थित कभर्ड हल र दैलेखमा समेत प्रशिक्षण सञ्चालन गरिने तालिकामा उल्लेख छ ।

मंसिर १६ देखि दशौँ राष्ट्रिय खेलकुद

कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन मंसिर १६ गते र समापन मंसिर २७ गते गर्ने तयारी छ ।

प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन परिषद्ले खेलाडी छनोट तथा बन्द प्रशिक्षणका कार्यक्रम अघि बढाएको हो । सदस्यसचिव चन्दले सम्बन्धित खेल संघ तथा महासंघलाई तोकिएको समय र स्थानमा खेलाडी छनोट तथा प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij