नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणको २४औँ खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ। लिग चरणको अन्तिम खेलमा जित निकाल्दै सुदूरपश्चिम प्लेअफ पुग्ने दोस्रो टोली बनेको हो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो।
काठमाडौंका लागि रासिद खानले सर्वाधिक ३५ रन बनाए। उनले ३१ बलमा ५ चौका प्रहार गरे। ओपनर साम ह्याज्लेटले ११ र सन्तोष यादवले १० रन जोडे। दुसान हेमन्थाले २१ रन बनाए। भिम सार्की र सहान जयसूर्या खाता नखोली आउट भए भने करण केसी ८ रनमा क्याच आउट भए।
सुदूरपश्चिमका लागि बलिङतर्फ अनिल खरेलले २ विकेट लिए। स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले १–१ विकेट हात पारे।
यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। १६.४ ओभरमा जहानदाद खानको बलमा ५४ रन बनाएका बेला काठमाडौंका कप्तान करण केसीले उनको क्याच छुटाएका थिए।
पावरप्लेमा शीर्ष चार ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेको सुदूरपश्चिमको इनिङ्सलाई दीपेन्द्र र आरिफ शेखबीचको साझेदारीले सम्हालेको थियो। पाँचौँ विकेटका लागि उनीहरूले ५४ रनको साझेदारी गरे। आरिफले १६ रन बनाएर रनआउट भए। दीपेन्द्रले छैटौँ विकेटका लागि पनि ५४ रनको साझेदारी गरे।
सुदूरपश्चिमका स्कट कुगेलेइनले छक्का प्रहार गरेपछि क्याच आउट भए। ब्रान्डन म्याकमुलेन र इशान डकआउट भए भने अर्का ओपनर विनोद भण्डारी १ रनमा एलबीडब्ल्यू आउट भए। थारिन्दु रत्नायके २६ र फाबियन एलन २ रनमा अविजित रहे।
काठमाडौंका लागि जहानदाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिए। काठमाडौंले लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस