२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

पाँच वर्षमा नेपालमा साढे ८ अर्बको झिलिमिली बत्ती आयात, चीन पहिलो आपूर्तिकर्ता

शुक्रवार, कार्तिक २८ २०८३१२:३६

चाडपर्व तथा विभिन्न उत्सवमा घर, कार्यालय र सार्वजनिक स्थल सजाउन प्रयोग हुने झिलिमिली बत्तीको माग तिहार र छठमा सबैभन्दा बढी हुने गरेको छ । यस्ता बत्तीको प्रमुख आपूर्तिकर्ता चीन रहेको छ भने दोस्रो स्थानमा भारत रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

पछिल्लो पाँच आर्थिक वर्षमा नेपालमा कुल ८ अर्ब ३९ करोड ५९ लाख ८८ हजार रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै यसको आयात ९.६५ प्रतिशतले बढेको छ ।

भन्सार विभाग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी) को तथ्यांकअनुसार नेपालमा झिलिमिली बत्तीको आयातमा वर्षैपिच्छे उतारचढाव देखिने गरेको छ । व्यवसायीले कुनै वर्ष ठूलो परिमाणमा बत्ती आयात गर्दा बाँकी रहेको मौज्दातका कारण अर्को वर्ष आयात घट्ने प्रवृत्ति देखिएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै २ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको थियो । त्यसपछिका वर्षमा भने आयात घटबढ हुँदै आएको छ ।

कुन वर्षमा कति भयो आयात ?

भन्सार विभागको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा झिलिमिली बत्तीको आयात यस्तो रहेको छ :

आर्थिक वर्ष

आयात रकम

२०७८/७९

२ अर्ब ११ करोड ३६ लाख

२०७९/८०

१ अर्ब २९ करोड ७५ लाख ३० हजार

२०८०/८१

१ अर्ब ७७ करोड ७ लाख ८६ हजार

२०८१/८२

१ अर्ब ४३ करोड ३० लाख २७ हजार

२०८२/८३

१ अर्ब ७८ करोड ९ लाख ७० हजार

आर्थिक वर्ष २०७९/८० मा झिलिमिली बत्तीको आयात अघिल्लो वर्षको तुलनामा ३८.६१ प्रतिशतले घटेको थियो । उक्त वर्ष १ अर्ब २९ करोड ७५ लाख ३० हजार रुपैयाँ बराबरको बत्ती आयात भएको थियो ।

तर, आर्थिक वर्ष २०८०/८१ मा आयात ३६.४७ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ७ लाख ८६ हजार रुपैयाँ पुगेको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा आयात पुनः १९.०७ प्रतिशतले घटेर १ अर्ब ४३ करोड ३० लाख २७ हजारमा सीमित भएको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा भने आयात २४.२८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको तथ्यांक छ ।

चालु आर्थिक वर्षको तीन महिनामै ५९ करोडको आयात

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना अर्थात् साउन, भदौ र असोजमा मात्रै ५९ करोड २२ लाख १३ हजार रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड २१ लाख ८ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५४ करोड १ लाख ४ हजार रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको थियो ।

तिहार र छठजस्ता प्रमुख चाडपर्वमा झिलिमिली बत्तीको माग बढ्ने भएकाले आगामी महिनामा यसको आयात थप बढ्न सक्ने देखिन्छ ।

यसले नेपाली बजारमा सजावटका सामग्रीको माग ठूलो भए पनि त्यसको आपूर्तिमा चीन र भारतबाट हुने आयातको निर्भरता रहेको देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij