नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा संशय व्यक्त गरेका छन् ।शुक्रबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकारले निर्धारित समयभित्र निर्वाचन गराउने वा नगराउने भन्ने विषयमा अन्योल देखिएको बताए । समयमा निर्वाचन हुन नसके स्थानीय तह चुनावविहीन हुने उनको भनाइ छ ।
उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक तयारी नगरेको आरोप लगाए । स्थानीय तहको संख्या हेरफेर गर्न संविधान संशोधन गर्नुपर्ने अवस्था भए पनि सरकारले त्यसका लागि कुनै तयारी नगरेको पौडेलले बताए ।
संविधान सुधार कार्यदल गठन गरेर बहस र समिति निर्माण गरिए पनि सरकार वास्तवमै संविधान संशोधन गर्न चाहेको हो वा केवल चर्चा चलाउन खोजेको हो भन्ने प्रश्न उब्जिएको उनको भनाइ छ ।
महामन्त्री पौडेलले सरकारले कुनै पनि बहानामा लोकतन्त्रमाथि आघात पुर्याउने काम गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस