लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। लगातार दुई सिजन फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै पुरानो हारको शृङ्खला तोडेको हो।
शनिबार (मंसिर ५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गर्यो। टोलीको जितमा ओपनर जर्ज मुन्से नायक बने। उनले ६२ बलमा १२६ रनको अविजित विस्फोटक पारी खेल्दै सुदूरपश्चिमलाई सहज जित दिलाए।
मुन्सेको इनिङमा आठ चौका र १२ छक्का समावेश थिए। उनले अन्तिम बलमा छक्का प्रहार गर्दै आफ्नो शतकीय पारीलाई थप यादगार बनाए। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा तीन चौकासहित अविजित ३० रन जोडे। यी दुईबीच पहिलो विकेटका लागि १५६ रनको साझेदारी भयो।
यसअघि क्वालिफायर–१ मा शून्य रनमै आउट भएका मुन्से क्वालिफायर–२ मा आठ रन बनाएर पभेलियन फर्किएका थिए। तर, निर्णायक खेलमा उत्कृष्ट पुनरागमन गर्दै उनले प्रतियोगिताकै स्मरणीय इनिङ खेले। उनी यस संस्करणमा शतक प्रहार गर्ने तेस्रो ब्याटरसमेत बने। यसअघि चितवन राइनोजका कमिल मसिरा र पोखरा एभेन्जर्सका युवराज सम्राले शतक बनाएका थिए।
मुन्सेले ६.३ ओभरमा आउट हुने जोखिमबाट पनि जोगिएका थिए। डार्सी सर्टको बलमा चौका प्रहार गर्ने क्रममा सन्दीप जोराले उनको क्याच छाडेका थिए। त्यसपछि रनआउट गर्ने प्रयाससमेत असफल भएपछि मुन्सेले जीवनदान पाएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। टोलीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए। पहिलो इनिङमा कुनै पनि ब्याटरले बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर थियो। उनले ३१ बलमा तीन छक्का प्रहार गर्दै मध्यक्रममा टोलीको रन गति कायम राख्न महत्त्वपूर्ण योगदान दिए।
कप्तान रोहितकुमार पौडेलले ३० तथा निरोसन डिक्वेलाले २८ रन बनाए। डार्सी सर्टले २१ रन जोड्दा नवौँ नम्बरमा आएका अलि शेखले १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
सुदूरपश्चिमका बलरहरूले सुरुदेखि नै लुम्बिनीलाई दबाबमा राखेका थिए। स्कट कुगेलेइनले दुई विकेट लिए भने थरिन्दु रत्नायके, हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
कुगेलेइनले ओपनर आसिफ शेखलाई एक रनमै एलबीडब्ल्यू आउट गर्दै लुम्बिनीलाई प्रारम्भिक झट्का दिएका थिए। उनले सन्दीप जोरालाई पनि दीपेन्द्र ऐरीको हातबाट क्याच गराए। दीपेन्द्रले डार्सी सर्टलाई क्लिन बोल्ड गर्दा लुम्बिनीको अर्को महत्त्वपूर्ण विकेट झर्यो। थरिन्दुले निरोसन डिक्वेलालाई बोल्ड गरे भने हेमन्तले अलि शेखलाई आउट गराए।
इंग्लिस कमेन्टेटर ग्रेम स्वानले पिचको अवस्था हेर्दा लुम्बिनीले सहजै १६० भन्दा बढी रन बनाउन सक्ने अनुमान गरेका थिए। तर, सुदूरपश्चिमको कसिलो बलिङका कारण लुम्बिनी अपेक्षित योगफलसम्म पुग्न सकेन।
यस जितसँगै सुदूरपश्चिमले एनपीएलमा पहिलोपटक च्याम्पियन बन्ने इतिहास रचेको छ। यसअघिका दुई संस्करणमा फाइनल पुगे पनि टोली क्रमशः पाँच र ६ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
उता, साबिक विजेताका रूपमा मैदान उत्रिएको लुम्बिनी लायन्स भने उपाधि रक्षा गर्न असफल भएको छ। पहिलोपटक फाइनलमा पराजित हुँदै टोली यस संस्करणको उपविजेतामा सीमित बनेको छ।
प्रतिक्रिया दिनुहोस