भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम हुँदैछन्। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग उच्चस्तरीय वार्ता, विकास परियोजनाको उद्घाटन तथा विभिन्न समझदारीपत्र र सम्झौता आदानप्रदान गर्ने कार्यतालिका रहेको छ।
निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।
बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ। त्यसलगत्तै बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र संयुक्त पत्रकार सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
सो अवसरमा अयोध्या–जनकपुर रेल सेवा, प्रहरी एकेडेमी र एकीकृत जाँच चौकीलगायत परियोजनाको संयुक्त उद्घाटन गरिनेछ। साथै अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने तयारी छ।
त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने, विकास साझेदारी विस्तार गर्ने तथा आपसी हित र साझा चासोका विषयमा सहकार्य अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस