काठमाडौं। जिनियस डिजिटल म्युजिक प्रालि तथा जिनियस डान्स एण्ड म्युजिक स्कुलको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बाल प्रतिभा प्रतियोगिता ‘किड्स जेनियस स्टार अफ नेपाल’ अन्तर्गतको महत्वपूर्ण चरण मेगा चरण भव्यताका साथ सम्पन्न भएको छ। मेगा चरणबाट गायन तथा नृत्य विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने ४० जना बालप्रतिभा सेमिफाइनल चरणका लागि छनोट भएका छन्।
निर्भाना एकेडेमीमा आयोजित मेगा चरणको कार्यक्रममा कला, संगीत, नृत्य तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘जमाना खराब छ’ लगायत दर्जनौं चर्चित गीतका संगीतकार तथा सशस्त्र प्रहरी उपरीक्षक गैरे सुरेश उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको सभापतित्व जिनियस डान्स एण्ड म्युजिक स्कुलका अध्यक्ष टेक लामा छिरिङले गर्नुभएको थियो। कार्यक्रमको संयोजन नृत्य निर्देशक तथा मोडल कृष्ण रसालले गर्नुभएको थियो भने सह–संयोजकका रूपमा नृत्य निर्देशक अनिल महर्जन रहनुभएको थियो। कार्यक्रम सञ्चालन गायक तथा संगीतकार रमेश पाठकले गर्नुभएको थियो।
कार्यक्रममा निर्भाना एकेडेमीका संस्थापक ज्ञानु रत्न तुलाधर, गिनिज रेकर्ड होल्डर तथा कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइँटेल, नृत्य निर्देशक संघका वरिष्ठ उपाध्यक्ष शम्भु शाही, चन्द्रागिरि कलाकर्मी संघका अध्यक्ष रवि राना मगरलगायत कला, संस्कृति तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी निर्भाना एकेडेमीका प्रधानाध्यापक निराजन अधिकारी, संयोजक जीवन जोशी, कलाकारहरू रवि कार्की, स्वस्तिका लामिछाने, शिला गजुरेल, नृत्य निर्देशकहरू पिङ्की खड्का, भावना राई, रूपा क्षेत्री, सुविस्ता जोशीलगायतको पनि कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।
मेगा चरणमा सहभागी बालप्रतिभाहरूले गायन तथा नृत्य विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। बालप्रतिभाहरूले प्रस्तुत गरेका गीत, नृत्य, प्रस्तुति शैली, मञ्चीय आत्मविश्वास, सिर्जनात्मकता तथा समग्र क्षमताका आधारमा निर्णायकहरूले मूल्याङ्कन गरेका थिए। प्रतियोगितामा सहभागी बालबालिकाहरूले आफूभित्र रहेको प्रतिभालाई उत्साहपूर्वक प्रस्तुत गर्दै दर्शक तथा उपस्थित अतिथिहरूको ध्यान आकर्षित गरेका थिए।
प्रतियोगिताको गायन विधातर्फ गायक तथा संगीतकार चेतन राई र गायक तथा संगीतकार चेतबहादुर बुढाथोकी निर्णायकका रूपमा रहनुभएको थियो। उहाँहरूले प्रतियोगी बालगायक तथा गायिकाहरूको स्वर, गायन क्षमता, गीत प्रस्तुत गर्ने शैली, सुरताल तथा समग्र प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गर्नुभएको थियो।
नृत्यतर्फ तीन अनुभवी निर्णायक
त्यस्तै नृत्य विधातर्फ चलचित्र निर्देशक तथा नृत्य निर्देशक अजय कुमार बिष्ट, नृत्य निर्देशक सागर तामाङ तथा नृत्य निर्देशक निरु फुयाल निर्णायकका रूपमा रहनुभएको थियो। निर्णायकहरूले बालप्रतिभाहरूको नृत्य कौशल, शारीरिक हाउभाउ, लय, ताल, मञ्चीय प्रस्तुति, सिर्जनात्मकता तथा आत्मविश्वासलाई आधार बनाएर मूल्याङ्कन गर्नुभएको थियो।
बालबालिकाको प्रतिभा पहिचान गर्दै उनीहरूलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले बालप्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजक पक्षले जनाएको छ। प्रतियोगितामा सहभागी बालबालिकाहरूको उत्साहपूर्ण सहभागिताले नेपाली कला, संगीत तथा नृत्य क्षेत्रमा नयाँ पुस्ताको सम्भावना उजागर गरेको आयोजकको भनाइ छ।
मेगा चरणबाट छनोट भएका ४० जना बालप्रतियोगी अब ‘किड्स जेनियस स्टार अफ नेपाल’को सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। सेमिफाइनलमा प्रवेश गरेका प्रतियोगीहरूले अब उपाधिका लागि थप चुनौतीपूर्ण प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ।
बालप्रतिभाको खोजी, विकास र प्रोत्साहनलाई प्राथमिकता दिँदै अघि बढाइएको यस प्रतियोगिताको आगामी चरणमा सहभागी बालप्रतिभाहरूबीच अझ रोचक तथा प्रतिस्पर्धात्मक प्रस्तुति हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले बालबालिकाको प्रतिभालाई राष्ट्रियस्तरमा स्थापित गर्न तथा नेपाली कला क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस