फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड रुपैयाँ हिनामिना भएको आरोप लगाउँदै संघीय संसद्को लेखा समितिमा परेको उजुरीबारे प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जवाफ दिएका छन्।
लेखा समितिमा परेको उजुरीमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गर्दा ६० करोड रुपैयाँ हिनामिना भएको आरोप लगाइएको थियो। जवाफ दिँदै प्रहरी महानिरीक्षक कार्कीले पोसाक खरिदका लागि तोकिएको रकम सम्बन्धित व्यापारीको खातामा पठाइएको जानकारी दिएका छन्। उनका अनुसार पोसाक खरिदका क्रममा तोकिएको रकम व्यक्तिगत खातामा पठाइएको हो।
कार्कीले प्रहरी संगठनसँग सम्बन्धित विषयमा बेनामी उजुरीहरू आउने गरेको समेत बताए। एउटै समूहबाट मात्रै ३२ देखि ३४ वटासम्म उजुरी परेको उनको भनाइ छ।
‘प्रहरी संगठनलाई जोडिएका विषयमा फेरि निर्वाचन गर्नुपर्ला, खरिद कसैले गरिदिएमा सजिलो हुन्थ्यो,’ कार्कीले भने, ‘सुरक्षाको काम प्रहरीको हो।’
उनले प्रहरीका सबैजसो खरिद प्रक्रियामा बेनामी उजुरी पर्ने गरेको बताए। खरिदसम्बन्धी कामका लागि छुट्टै संरचना भए प्रहरीलाई काम गर्न सहज हुने उनको भनाइ थियो।
‘खरिद विभाग वा खरिद मन्त्रालय भए हामीलाई खुरुखुरु काम गर्न सहज हुन्थ्यो,’ कार्कीले भने।
यसैबीच, गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन प्रहरीको पोसाक खरिदका लागि नयाँ मापदण्ड नबनाइएको स्पष्ट पारेका छन्। उनले व्यक्तिको खातामा जानुपर्ने रकम सोहीअनुसार कार्यान्वयन भएको र आफूहरूले गरेको कामकारबाही विगतको प्रक्रियाभन्दा फरक नरहेको बताएका छन्।
पोसाक खरिदमा ६० करोड रुपैयाँ हिनामिना भएको आरोपसहित परेको उजुरीमाथि लेखा समितिमा छलफल भइरहेका बेला प्रहरी महानिरीक्षक र गृहसचिवको यस्तो जवाफ आएको हो।
प्रतिक्रिया दिनुहोस