काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र नेतृत्वको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत पुराना दलका कमजोरीलाई रास्वपाले आफ्नो राजनीतिक उदयको आधार बनाएको बताएका हुन्।
उनका अनुसार रास्वपाले तत्कालीन अवस्थामा रवि लामिछाने र बालेन्द्र शाह (बालेन) जस्ता व्यक्तिलाई नेतृत्वका रूपमा अघि सार्दै उल्लेख्य राजनीतिक सफलता हासिल गरे पनि पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति तथा वर्गीय र सामाजिक आधार स्पष्ट पार्न सकेन। यही कमजोरीका कारण रास्वपाको ‘शिखरबाट ओरालो यात्रा’ सुरु भएको उनको दाबी छ।
भट्टराईले रास्वपा र उसका नेतृत्वले अरूको परीक्षा लिएर रमाउने अवस्था अब आफ्नै परीक्षामा पुगेको टिप्पणी गरेका छन्। नेतृत्वमा टिकिरहन वा शासन लम्ब्याउन बाहिर तथा पार्टीभित्रका विरोधीमाथि बदला र प्रतिशोधको राजनीति आधार बन्न नसक्ने उनको भनाइ छ।
यद्यपि, रास्वपाको कमजोर बन्दै गएको अवस्थालाई पुराना दलका नेताहरूले आफ्नो नेतृत्व पुनःस्थापना र राजनीतिक पुनरुत्थानको अवसरका रूपमा लिनु पनि गलत हुने भट्टराईले बताएका छन्।
उनले पुराना दलहरूले विगतका कमजोरीको समीक्षा नगर्ने, खस्किँदै गएको वर्गीय तथा सामाजिक आधार पुनर्निर्माणमा ध्यान नदिने र नेतृत्वका कमजोरी ढाकछोप गर्ने प्रवृत्ति दोहोर्याए गम्भीर राजनीतिक भूल हुने चेतावनी दिएका छन्।
भट्टराईले नीति, विचार र संगठनको पुनर्गठनबारे पार्टीभित्र गम्भीर छलफल आवश्यक रहेको औंल्याउँदै समस्या र कमजोरीलाई ‘कार्पेटमुनि’ लुकाएर जयजयकार गर्ने भीडलाई मात्र लोकप्रियता र शक्तिको स्रोत ठान्न नहुने बताएका छन्।
उनका अनुसार रास्वपाको वर्तमान अवस्थाबाट पुराना दलहरूले आत्मसन्तुष्टि लिनुभन्दा आफ्नै कमजोरी पहिचान गर्दै राजनीतिक, वैचारिक र संगठनात्मक पुनर्निर्माणमा केन्द्रित हुन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस