२०८३, भाद्र १० गते

बुधवार, भाद्र १० गते २०८३

होस्टेलको बेथिति रोक्न प्रशासन एक्सनमा, एक महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन

आइतवार, भाद्र ७ २०८३११:५६

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल) लाई मापदण्ड सुधार गरी नियमको पूर्ण पालना गर्न एक महिनाको समय दिएको छ।

होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुल्ने गरिएको, पूर्वाधार कमजोर रहेको तथा लागुऔषधको प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना जारी गर्दै सञ्चालकहरूलाई कडाइका साथ मापदण्ड पालना गर्न निर्देशन दिएको हो।

प्रशासनका अनुसार पछिल्लो समय गरिएको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टेललाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको छ। होस्टेलभित्रै भएको झडपमा विद्यार्थीको मृत्यु भएको घटना, सरसफाइ तथा खानाको गुणस्तर र सुरक्षा व्यवस्थासम्बन्धी गुनासोलाई समेत ध्यानमा राख्दै प्रशासनले २१ बुँदे मापदण्ड लागू गर्न निर्देशन दिएको जनाएको छ।

जारी सूचनाअनुसार सबै निजी होस्टेलले सम्बन्धित निकायमा अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्नुपर्नेछ। होस्टेलको शुल्क तथा दररेट स्पष्ट रूपमा सार्वजनिक गरी सोहीअनुसार मात्र रकम लिनुपर्नेछ।

त्यसैगरी, होस्टेल सञ्चालक र विद्यार्थीबीच अनिवार्य सम्झौता गर्नुपर्नेछ। अरूको घर भाडामा लिएर होस्टेल सञ्चालन गरिएको भए सञ्चालकले घरधनीसँग समेत लिखित घरभाडा सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।

सुरक्षाका लागि कोठा र शौचालयजस्ता संवेदनशील स्थानबाहेक अन्य क्षेत्रमा अनिवार्य रूपमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा २४ घण्टा जिम्मेवार वार्डेन तथा निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ।

सञ्चालक, वार्डेन र होस्टेलमा बस्ने सबै विद्यार्थीको अद्यावधिक व्यक्तिगत विवरण नजिकको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने प्रशासनले जनाएको छ।

होस्टेलभित्र लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउनसमेत निर्देशन दिइएको छ।

पूर्वाधारतर्फ महिला र पुरुषका लागि सञ्चालन हुने होस्टेलमा छुट्टाछुट्टै कार्यालय तथा आवास भवनको व्यवस्था गर्नुपर्नेछ। प्रत्येक कोठामा पर्याप्त हावा र प्रकाशको व्यवस्था हुनुका साथै व्यवस्थित पुस्तकालय र अध्ययन कक्षसमेत हुनुपर्नेछ।

शुद्ध खानेपानी, नियमित विद्युत् तथा इन्टरनेटको वैकल्पिक व्यवस्था, सरसफाइ र गुणस्तरीय खानाको सुनिश्चितता गर्नुपर्नेछ। आपत्कालीन अवस्थाका लागि अग्निनियन्त्रक उपकरण र प्राथमिक उपचारका सामग्री अनिवार्य राख्नुपर्नेछ भने सरकारी निकायका आपत्कालीन सम्पर्क नम्बर सबैले देख्ने गरी राख्नुपर्नेछ।

विद्यार्थीलाई मानवीय र मर्यादित व्यवहार गर्न तथा सुरक्षित वातावरण निर्माण गर्न सञ्चालकलाई निर्देशन दिइएको छ। विद्यार्थीले पनि अनुशासन र मर्यादा कायम गर्नुपर्ने सूचनामा उल्लेख छ।

होस्टेल आसपासका छिमेकीलाई असर पर्ने गरी होहल्ला गर्न नपाइने व्यवस्था मिलाउनसमेत सञ्चालकलाई भनिएको छ। विद्यार्थीलाई समय–समयमा मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउनुका साथै मर्यादा, अनुशासन र व्यवहारसम्बन्धी प्रशिक्षण कम्तीमा महिनामा एकपटक सञ्चालन गर्नुपर्नेछ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी खिमराज भुसालले प्रशासनले तोकेको एक महिनाभित्र सम्पूर्ण मापदण्ड पूरा नगर्ने निजी होस्टेल सञ्चालकलाई कानुनबमोजिम कडा कारबाही गरिने बताएका छन्।

प्रशासनले विद्यार्थीको सुरक्षा, स्वास्थ्य, शिक्षा र मर्यादित वातावरण सुनिश्चित गर्न होस्टेल सञ्चालनमा थप कडाइ गरिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij