चितवन । स्तन क्यान्सरबारे जनचेतना फैलाउने र समयमै रोग पहिचान तथा उपचारका लागि प्रेरित गर्ने उद्देश्यले चितवनको भरतपुरमा स्तन क्यान्सर सचेतना दौड आयोजना गरिएको छ।
चितवन मेडिकल कलेज (सीएमसी) क्यान्सर इन्स्टिच्युट र माईन प्लस युवा क्लबको संयुक्त आयोजनामा भएको दौडमा सहभागीहरूले स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।
करिब ६ किलोमिटर दूरीको दौडको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए।
चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार समयमै पहिचान, नियमित जाँच र उचित उपचारबाट स्तन क्यान्सरविरुद्धको लडाइँ प्रभावकारी बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको हो।
उनले स्तन क्यान्सरको समयमै पहिचान र उपचारबाट निको हुने सम्भावना बढ्ने भएकाले पूर्वसावधानी र जनचेतना आवश्यक रहेको बताए।
विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ। गुलाबी महिनाका रूपमा समेत चिनिने यस अवधिमा सीएमसी क्यान्सर इन्स्टिच्युटले एक महिनासम्म स्तन क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरेको देवकोटाले जानकारी दिए।
इन्स्टिच्युटले भरतपुर महानगरपालिकाभित्रका स्वास्थ्य स्वयंसेविकाहरूसँग स्तन क्यान्सरको जोखिम, पहिचान र सचेतनाबारे अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ। स्वयंसेविकाहरू घरघरमा पुग्ने भएकाले उनीहरूमार्फत समुदायस्तरमा स्तन क्यान्सरसम्बन्धी जानकारी विस्तार गर्न सकिने देवकोटाको भनाइ छ।
क्यान्सर उपचारका लागि संघीय सरकारले एक लाख रुपैयाँ र बागमती प्रदेश सरकारले ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ। स्तन तथा पाठेघरको क्यान्सर उपचारका लागि प्रदेश सरकारले थप ५० हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको जनाइएको छ।
चितवनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा क्यान्सरको उपचार हुँदै आएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार सन् २०२५ मा ७३१ जनामा स्तन क्यान्सर पुष्टि भएको थियो। तीमध्ये २० जना पुरुष थिए। पछिल्लो समय स्तन क्यान्सरका बिरामी बढ्दै गएको सन्दर्भमा समयमै परीक्षण, पहिचान र उपचारको महत्त्वबारे जनचेतना फैलाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस