काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्।
प्रतिष्ठानको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला अन्य प्रतिस्पर्धीले उम्मेदवारी नदिएपछि शर्मा निर्विरोध अध्यक्ष बनेका हुन्। अध्यक्षमा निर्विरोध हुने निश्चित भएपछि उनले मध्यरातमा मनोनयन दर्ता गराएका थिए।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक केसी र महासचिवमा शिव हमाल पनि निर्विरोध चयन भएका छन्। वरिष्ठ उपाध्यक्षका आकांक्षी रामजी खाँडले उम्मेदवारी नदिएपछि केसी सर्वसम्मत भएका हुन्।
प्रतिष्ठानको नवौँ महाधिवेशन महोत्तरीको बर्दिवासमा भइरहेको छ। शुक्रबारदेखि सुरु भएको महाधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस