काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्न कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै प्राधिकरणले सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्तावसमेत प्राप्त नभएको जनाएको हो।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले लिने शुल्क उचित र मनासिब हुनुपर्ने स्पष्ट पारेको छ। शुल्क निर्धारण गर्दा प्राधिकरणको निर्देशिकाअनुसार प्रक्रिया पूरा गरी लागू हुने मितिभन्दा कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।
त्यसैगरी, प्राधिकरणबाट स्वीकृत भएको शुल्क सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था पनि रहेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणले स्वीकृतिबिना शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी रकम लिने वा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
इन्टरनेट सेवा प्रदायकले स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न सकिने जनाएको छ।
उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धा कायम तथा इन्टरनेट सेवालाई नियमित र व्यवस्थित बनाउन प्राधिकरण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस