काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको रूपान्तरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गरेका छन्। शनिबार पार्टी मुख्यालयमा सम्बोधन गर्दै उनले आफ्नो जितलाई व्यक्तिगत विजय नभई परिवर्तनको पक्षमा उभिएका कार्यकर्ता र नागरिकको विश्वासको जित भएको बताएका हुन्।
‘म कुनै विजयी भावले होइन, ठूलो जिम्मेवारीको बोधले यहाँ उभिएको छु,’ थापाले भने, ‘यो मेरो व्यक्तिगत विजय होइन, परिवर्तनप्रतिको विश्वासको विजय हो। नेपाललाई नयाँ दिशा दिन चाहने हरेक नागरिकको विजय हो।’
उनले आफ्नो जितलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नयाँ पुस्ताको उदयको सङ्केतका रूपमा व्याख्या गरे। कांग्रेसले आफ्नो गौरवशाली इतिहासबाट सिक्नुपर्ने तर त्यसैमा सीमित भएर बस्न नहुने उनको भनाइ थियो।
‘हामीले हाम्रो इतिहासबाट सिक्नुपर्छ, तर त्यसमा मात्र सीमित हुन सक्दैनौँ। नयाँ इतिहास रच्ने समय आएको छ,’ उनले भने।
थापाले कांग्रेसलाई थप समावेशी, पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टी सङ्गठनलाई तल्लो तहसम्म सुदृढ गर्ने, युवा तथा महिलाको सहभागिता बढाउने र गुटबन्दी अन्त्य गर्ने बताए।
उनले पार्टीभित्र मतभेद भए पनि समृद्ध र लोकतान्त्रिक नेपालको निर्माण साझा लक्ष्य हुनुपर्नेमा जोड दिए।
देशको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थापाले कांग्रेसले जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। सरकारका गलत कदमको विरोध गर्ने र देशको हितमा हुने निर्णयलाई समर्थन गर्दै राष्ट्रिय मुद्दामा अन्य दलसँग सहकार्य गर्ने उनको भनाइ थियो।
सम्बोधनको अन्त्यमा थापाले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर कांग्रेसलाई नयाँ उचाइमा पुर्याउन आह्वान गरेका थिए। उनको सम्बोधनलाई उपस्थित कार्यकर्ता तथा समर्थकले ताली बजाएर स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस