काठमाडौँ । नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित ‘पुल/बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदल’ का संयोजक तथा नेपाली सेनाका पूर्वउपरथी धर्मेन्द्र झाले बेलीब्रिज भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएका छन्।
निर्माण कार्यमा दिनरात खटिएको उल्लेख गर्दै झाले पुल सञ्चालनमा आएसँगै लामो समयदेखि अवरुद्ध यातायात सेवा पुनःसञ्चालन हुने र स्थानीयले भोग्दै आएको सास्ती कम हुने अपेक्षा गरिएको बताए।
उनले भने, ‘हामीले दिनरात खटेर काम गरिरहेका छौँ, बेत्रावतीको बेलीब्रिज भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ।’
बेत्रावतीसँगै स्याफ्रुबेसीमा पनि बेलीब्रिज निर्माणको काम अघि बढेको कार्यदलले जनाएको छ। केही प्राविधिक कठिनाइ र भौगोलिक प्रतिकूलताका कारण निर्माणमा ढिलाइ भए पनि अहिले कामले गति लिएको झाले बताए।
‘स्याफ्रुबेसीमा पनि बेलीब्रिज निर्माणको काम अघि बढेको छ। केही भौगोलिक र प्राविधिक समस्या समाधान गर्दै छिट्टै निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ,’ उनले भने।
कार्यदलका संयोजक झाका अनुसार नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा निरन्तर काम गरिरहेको छ। निर्माणका क्रममा देखिएका समस्याहरू समाधान गर्न कार्यदल प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माण कार्यको प्रगति र प्राविधिक अवस्थाबारे विस्तृत विवरणसहितको प्रतिवेदन भोलि बिहानसम्म सार्वजनिक गरिने बताए।
प्रतिक्रिया दिनुहोस