२०८३, आश्विन २९ गते

बिहिवार, आश्विन २९ गते २०८३

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा कोरलाबाट भित्रिएका २ हजार ५०० बढी ईभी मुस्ताङमै थन्किए

बुधवार, आश्विन २८ २०८३१०:३५

काठमाडौं । असोज ११ गतेको भारी वर्षापछि बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि दुई साताको अवधिमा चीनको कोरला नाकाबाट २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् । तर, सडकको अवस्था सहज नहुँदा ती सवारीसाधन गन्तव्यमा पुग्न नसकी मुस्ताङमै रोकिएका छन् ।

शुक्रबार साँझदेखि सडक सञ्चालनमा आए पनि सडकको अवस्था अझै जोखिमपूर्ण रहेकाले कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन गन्तव्यतर्फ जान नसकेको सम्बन्धित प्रतिनिधिहरूले बताएका छन् ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा दुई हजारभन्दा बढी विद्युतीय सवारीसाधन पार्किङ गरी राखिएका छन् ।

कोरलास्थित बीओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजारभन्दा बढी र भन्सार यार्डमा २०० भन्दा बढी विद्युतीय गाडी पार्किङमा छन् ।

‘कोरलानाका क्षेत्रमा भन्सार जाँचपास भएपछि स्थानीय चालकले गाडी भन्सार कार्यालयसम्म ल्याइपुर्‍याउँछन् । त्यसपछि कम्पनीकै चालकले विद्युतीय गाडी झार्ने गर्छन्,’ धितालले भने, ‘नाकामा राखिएका गाडी भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण गरेका छौँ ।’

त्यसैगरी, कोरलानाकाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब ५०० भन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमका दुई पार्किङस्थलमा राखिएका छन् ।

साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीका अनुसार बेनी–जोमसोम सडक सञ्चालनमा आए पनि अवस्था अझै नाजुक रहेकाले जोमसोम पुगेका विद्युतीय सवारीसाधन गन्तव्यतर्फ पठाउन सकिएको छैन ।

उनले भारी वर्षापछि सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बीवाईडी कम्पनीका विभिन्न मोडलका दुई हजारभन्दा बढी गाडी मुस्ताङमा रोकिएको बताए । कम्पनीका विद्युतीय गाडी गन्तव्यसम्म पुर्‍याउन आएका उनले साना गाडीसमेत पठाउन समस्या भएकाले जोमसोममै राख्नुपरेको जानकारी दिए ।

उनका अनुसार जोमसोम बसपार्क र भन्सार कार्यालयको पार्किङस्थलमा ती गाडी राखिएका छन् । असोज ११ गतेअघि बीवाईडी कम्पनीका करिब ४५० गाडी गन्तव्यतर्फ पठाइएको भए पनि त्यसपछि भित्रिएका गाडी सडकको अवस्थाका कारण रोकिएका हुन् ।

साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट करिब तीन हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्र्याउने योजना बनाएको पनि बुढाथोकीले बताए ।

यसैबीच, सशस्त्र प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।

जिल्लामा रोकिएका कन्टेनर बाहिरिएसँगै मालवस्तु ढुवानीका लागि केही खाली कन्टेनर कोरलानाकातर्फ उकालो लागेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij