काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालबाट बाहिरिएको जनाएको छ। बुधबारदेखि मनसुन बाहिरिएसँगै मनसुनी वर्षाका कारण सिर्जना हुने बाढी तथा आकस्मिक बाढीको जोखिम तत्कालका लागि नरहेको भन्दै महाशाखाले नियमित २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा स्थगित गरेको हो।
महाशाखाले जारी गरेको सूचनाअनुसार आगामी वर्षको मनसुन सुरु नभएसम्मका लागि उक्त नियमित सेवा बन्द गरिएको छ। सर्वसाधारणलाई पूर्वसूचना प्रवाह गर्न सञ्चालनमा ल्याइएको टोल फ्री नम्बर ११५५ को विकल्प (२) समेत हाललाई बन्द गरिएको महाशाखाले जनाएको छ।
नियमित पूर्वसूचना सेवा स्थगित गरिए पनि नदी तथा जलस्रोतको अवस्था र बाढीजन्य जोखिमको निरन्तर निगरानी भने जारी रहने महाशाखाले स्पष्ट पारेको छ। मनसुनबाहेकको समयमा पनि सम्भावित विपद्लाई ध्यानमा राख्दै आवश्यकताअनुसार जानकारी उपलब्ध गराइने महाशाखाको भनाइ छ।
‘मनसुनबाहेकको अवधिमा बाढीको जोखिम आकलन भएमा वा अन्य कुनै कारणले पूर्वसूचना दिनुपर्ने अवस्था आएमा आवश्यकताअनुसार तत्काल सेवा पुनः सञ्चालन गरिनेछ,’ महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।
नदीको जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएमा तत्काल पूर्वसूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस