२०८३, आश्विन २९ गते

बिहिवार, आश्विन २९ गते २०८३

दसैँको किनमेलमा बजारमा भीड, महँगीले उपभोक्ता मारमा

बुधवार, आश्विन २८ २०८३०३:००

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाका प्रमुख बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायत क्षेत्रमा लत्ताकपडा तथा आवश्यक सामग्री खरिद गर्नेको चहलपहल बाक्लिएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चीनतर्फका दुईवटा नाका अवरुद्ध भएकाले अघिल्लो वर्षको तुलनामा लत्ताकपडाको मूल्य केही बढेको हुन सक्ने उपभोक्ताको अनुमान छ । दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्यसमेत पछिल्लो समय बढेको उपभोक्ताको गुनासो छ ।

काठमाडौं महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले महँगी बढेसँगै चाडपर्व मनाउनसमेत कठिन हुँदै गएको बताए । “जिरा मसिनो चामलको भाउ एक बोरामै ३०० रुपैयाँ बढेको छ,” उनले भने, “दसैँमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि चार सय रुपैयाँले बढेको छ । न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ ।”

तिनकुनेकी स्मिता खत्री पनि यसपालिको दसैँमा आफ्ना तीन सन्तानलाई नयाँ लुगा किनिदिने सोचमा थिइन् । लत्ताकपडाको मूल्य बढे पनि उनले जेनतेन तीनै सन्तानका लागि नयाँ लुगा किनेको बताइन् ।

“दसैँमा एकसरो लुगा त फेरिदिनुपर्‍यो नि,” उनले भनिन्, “सीमित आयस्रोत हुनेलाई दसैँ त दशाजस्तै हुने रहेछ । के गर्नु, नमनाएर पनि भएन ।”

आम्दानी कम भएका परिवारलाई दसैँ मनाउन थप कठिन हुने उपभोक्ताको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालि खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेको बताए ।

“बजारमा सबैखालका खाद्यान्नको भाउ बढेको छ,” उनले भने, “अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्यसमेत आकासिएको छ ।”

अध्यक्ष तिमल्सिनाले नियमित बजार अनुगमन गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारी निकाय सक्रिय हुनुपर्ने बताए । “सरकारले आपूर्ति शृङ्खला नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रण गर्न हस्तक्षेप गरेर अघि बढ्नुपर्ने देखिएको छ,” उनले भने ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका रसुवा र तातोपानी अवरुद्ध हुँदा सामान आयात गर्न असहज भइरहेको बताए ।

“चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर परेको छ,” उनले भने, “चीनतर्फबाट दसैँलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब पाँच अर्ब रुपैयाँ मूल्य बराबरका सामान नाकामै रोकिएका छन् ।”

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यका अनुसार दैनिक २५ देखि ५० वटासम्म फर्म तथा कम्पनीको अनुगमन भइरहेको छ ।

“अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिने व्यापारी तथा व्यवसायीलाई आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ,” उनले भने ।

महानिर्देशक शाक्यले सबै वस्तु तथा सामग्री तोकिएको मूल्यमा बिक्रीवितरण गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij