२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

युक्रेनमा अमेरिकी कम्पनीमाथि रुसी आक्रमण तीव्र, ट्रम्प प्रशासन मौन

बुधवार, आश्विन २८ २०८३०४:१८

काठमाडौं । रूसले युक्रेनमा रहेका अमेरिकी कम्पनीका कारखाना, उत्पादन केन्द्र र गोदामलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण तीव्र बनाएको छ। कोकाकोलाको कारखानादेखि म्याकडोनाल्ड्सका लागि सामान भण्डारण गरिने गोदामसम्म रुसी आक्रमणबाट क्षतिग्रस्त भएका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले यी आक्रमणबारे सार्वजनिक रूपमा खासै प्रतिक्रिया दिएका छैनन्।

युक्रेनमा अमेरिकी कम्पनीका संरचनामाथि पछिल्ला महिनामा आक्रमण बढेको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले जनाएको छ। युक्रेनस्थित अमेरिकी चेम्बर अफ कमर्सका अध्यक्ष एन्डी हन्डरका अनुसार कोकाकोला, पेप्सिको, म्याकडोनाल्ड्स र ओरियोसँग सम्बन्धित संरचनाहरू रुसी आक्रमणबाट प्रभावित भएका छन्।

‘ड्रोन र मिसाइलबाट सिधै प्रहार भइरहेको छ। उनीहरूले लगातार आक्रमण गरिरहेका छन्। यसले अमेरिकी व्यवसायलाई नै निशाना बनाइएको सन्देश दिन्छ,’ हन्डरले सीएनएनसँग भने, ‘तर ह्वाइट हाउसबाट कुनै प्रतिक्रिया आएको हामीले देखेका छैनौँ।’

उनले अमेरिकी लगानी, पुँजी र व्यवसायमाथि भइरहेको आक्रमण रोक्न आवश्यक पहल गर्नुपर्ने बताए। उनका अनुसार रूसले यसअघि पनि युक्रेनमा अमेरिकी व्यवसायलाई अवरोध पुर्‍याउने प्रयास गरेको थियो। तर पछिल्ला महिनामा देखिएको आक्रमणको स्तर पहिलेको तुलनामा असामान्य रहेको उनको भनाइ छ।

गत सेप्टेम्बर ३ मा किभनजिकै रहेको कोकाकोलाको कारखानामा रूसले ड्रोन आक्रमण गरेको थियो। त्यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई अमेरिकाका लागि स्पष्ट सन्देशका रूपमा व्याख्या गरेका थिए।

‘आज रूसीहरूले ड्रोनबाट कोकाकोलाको कारखानामा प्रहार गरे। कोकाकोला उनीहरूका लागि यति ठूलो शत्रु बनेछ कि उनीहरू त्यसलाई आफ्ना शाहेद ड्रोनबाट जलाइरहेका छन्,’ जेलेन्स्कीले राति प्रसारित भिडियो सन्देशमा भनेका थिए।

उनले उक्त आक्रमणलाई रूसले अमेरिकालाई दिएको ठाडो चुनौतीका रूपमा समेत प्रस्तुत गरेका थिए। अमेरिकी कम्पनी भएको थाहा हुँदाहुँदै पनि आक्रमण गरिएको हुन सक्ने उनको भनाइ थियो।

त्यसैगरी, सेप्टेम्बर २५ मा किभ क्षेत्रमा म्याकडोनाल्ड्सका लागि प्रयोग हुने एउटा गोदाममा रुसी ड्रोनले प्रहार गरेको थियो। म्याकडोनाल्ड्स युक्रेनले आफ्नो आपूर्ति साझेदारले सञ्चालन गरेको गोदाम आक्रमणमा क्षतिग्रस्त भएको पुष्टि गरेको छ। त्यसको असर कम्पनीका रेस्टुरेन्टमा समेत परेको छ। केही रेस्टुरेन्टले अहिले सीमित परिकार मात्रै उपलब्ध गराइरहेका छन्।

पेप्सिकोले पनि अगस्टको अन्त्यमा दक्षिणी युक्रेनको माइकोलाइभ क्षेत्रमा रहेको आफ्नो उत्पादन केन्द्र क्षतिग्रस्त भएको जनाएको सीएनएनले उल्लेख गरेको छ। उक्त घटनामा कोही पनि हताहत नभएको कम्पनीको भनाइ छ।

युक्रेनमा अमेरिकी कम्पनीका संरचनामाथि आक्रमण भइरहे पनि सबै कम्पनी यसबारे सार्वजनिक रूपमा बोल्न इच्छुक छैनन्। अमेरिकी विदेश मन्त्रालयका एक पूर्ववरिष्ठ अधिकारीका अनुसार केही कम्पनीले आफूलाई पटकपटक निशाना बनाइएको विषय सार्वजनिक गर्न नचाहेको सीएनएनले जनाएको छ।

हन्डरका अनुसार केही कम्पनी अमेरिकी सरकारको ध्यानाकर्षण गराउन चाहन्छन् भने अन्यले सावधानी अपनाइरहेका छन्। अमेरिकी चेम्बर अफ कमर्सले युक्रेन भ्रमणमा आउने दुवै दलका अमेरिकी सांसदसँग भेटेर यो विषय ह्वाइट हाउससम्म पुर्‍याउन आग्रह गरेको उनले बताए।

गत महिना उनले राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ ज्यारेड कुश्नरसँग भेटको अनुरोध गर्दै युक्रेनमा अमेरिकी व्यवसायको अवस्थाबारे जानकारी दिन खोजेका थिए। तर त्यसको जवाफ नआएको उनको भनाइ छ।

अमेरिकी सांसदहरूमध्ये केही डेमोक्र्याटहरूले भने अमेरिकी कम्पनीमाथि भइरहेका आक्रमणका लागि रूसलाई जबाफदेही बनाउन ह्वाइट हाउसले पहल गर्नुपर्ने माग गरेका छन्। युक्रेनले पनि आफ्ना क्षेत्रमा रहेका अमेरिकी कम्पनीको सुरक्षा गर्न थप प्रतिरक्षा सहयोग आवश्यक रहेको बताउँदै आएको छ।

ट्रम्पले युक्रेनमा अमेरिकी कम्पनीका संरचनामाथि भएका आक्रमणबारे सार्वजनिक रूपमा खासै नबोले पनि युक्रेनले रूसका ऊर्जा पूर्वाधारमाथि गरिरहेका आक्रमणको भने आलोचना गर्दै आएका छन्। यसै विषयलाई लिएर उनले जेलेन्स्कीको पटकपटक आलोचना गरेका छन्। पछिल्लो समय उनले युक्रेनमा राष्ट्रपति परिवर्तन गर्नुपर्ने समय आएको टिप्पणीसमेत गरेका छन्।

युक्रेनले रूसको तेल पूर्वाधारमा आक्रमण गर्दा अमेरिकी उपभोक्ता प्रभावित हुने र कजाकस्तानमा रहेको अमेरिकी लगानीमा समेत असर पर्ने तर्क ट्रम्प प्रशासनले गरेको थियो। युक्रेनी आक्रमणका कारण रूसमा डिजेल आपूर्तिमा असर परेको र इन्धनको मूल्य बढेको आरोप पनि ट्रम्पले लगाएका छन्।

गत शुक्रबार ट्रम्पले प्रतिबन्ध खुकुलो पारेर रूसबाट डिजेल खरिद गर्ने सम्झौता घोषणा गरेको विवरणमा उल्लेख छ। सीएनएनका अनुसार युक्रेनले रुसी ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखे अमेरिकाले गुप्तचर सूचना र हतियार सहयोग सीमित गर्न सक्ने चेतावनीसमेत दिएको छ।

यसअघि अगस्ट २०२५ मा युक्रेनस्थित अमेरिकी इलेक्ट्रोनिक्स कारखानामा रूसले आक्रमण गर्दा ट्रम्पले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसबारे असन्तुष्टि व्यक्त गरेको बताएका थिए। तर पछिल्ला आक्रमणबारे भने उनले त्यस्तै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पको मुख्य उद्देश्य युद्ध अन्त्य गर्नु रहेको बताएका छन्। उनका अनुसार ट्रम्प र उनको टोली रूस–युक्रेन युद्ध अन्त्य गर्न तथा दुवै पक्षसँग संवाद अघि बढाउन प्रतिबद्ध छन्।

हन्डरका अनुसार विदेशी सेनाले अमेरिकी कम्पनीमाथि आक्रमण गर्दा अमेरिकी सरकारले आफ्नो पक्षमा उभिएर आवाज उठाओस् भन्ने अपेक्षा स्वाभाविक हो।

‘कुनै पनि कम्पनी वा व्यवसायले आफ्नो सुरक्षा चाहन्छ। विदेशी सेनाले अमेरिकी कम्पनीमाथि आक्रमण गरिरहेको छ भने सरकारले आफ्नो पक्षमा उभिएर त्यसविरुद्ध आवाज उठाओस् भन्ने अपेक्षा हुन्छ,’ उनले सीएनएनसँग भने।

अमेरिकी विदेश मन्त्रालयका पूर्वअधिकारीका अनुसार वासिङ्टनमा युक्रेनसम्बन्धी विषयमा बोल्ने जिम्मेवारी विटकफ र कुश्नरजस्ता सीमित व्यक्तिमा केन्द्रित भएको धारणा छ। उनीहरूबाहेक अन्य अधिकारीले यस विषयमा बोल्न नचाहँदा अमेरिकी व्यवसायमाथिका आक्रमणले पर्याप्त ध्यान पाउन नसकेको उनको भनाइ छ।

अमेरिकी प्रशासनले आफूलाई अमेरिकी व्यवसायको पक्षमा उभिने बताउँदै आए पनि युक्रेनमा आफ्नै कम्पनीका संरचनामाथि भइरहेका आक्रमणबारे मौन रहनुको कारण बुझ्न कठिन भएको हन्डरको भनाइ छ।

रूसको आक्रमणबाट अमेरिकी कम्पनीका संरचना क्षतिग्रस्त भइरहँदा वासिङ्टनको सार्वजनिक प्रतिक्रियाको अभावले अमेरिकी व्यवसायको सुरक्षा र ट्रम्प प्रशासनको रूस–युक्रेन नीतिबारे नयाँ प्रश्न खडा गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij