काठमाडौँ । साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको आक्रमणमा परी घाइते भएका दुई नेपाली सकुशल रहेको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ ।
घाइते दुवै नेपालीको उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको दूतावासका एक अधिकारीले जानकारी दिएका छन् । उनीहरूलाई चाँडै अस्पतालबाट डिस्चार्ज गरिने अपेक्षा गरिएको छ ।
आक्रमणका क्रममा भिडियो खिचेको आरोपमा पक्राउ परेका अर्का नेपालीलाई पनि साउदी सरकारले रिहा गरेको बताइएको छ ।
हुथी विद्रोहीले गरेको उक्त आक्रमणमा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।
घटनापछि साउदी अरबमा रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाली दूतावासले अनुगमन तीव्र बनाएको छ ।
परराष्ट्र मन्त्रालयले पनि नेपाली राजदूतावास, रियादले साउदी अरबका सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।
दूतावासले स्थानीय निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न र कुनै समस्या परेमा तत्काल नेपाली राजदूतावासमा सम्पर्क गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस