काठमाडौं । नेकपा (एमाले) का सांसद प्रेमप्रसाद दंगालले नेपाल र श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन, नेपाली पर्यटकले भोग्दै आएको भिसा समस्या समाधान गर्न तथा हवाई उडान विस्तारका सम्भावना खोज्न प्रस्तावित राजदूत डा. मञ्चलाकुमारी झासँग कार्ययोजना माग गरेका छन् ।
श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. झाको संसदीय सुनुवाइका क्रममा सांसद दंगालले यस्तो कार्ययोजना माग गरेका हुन् ।
बुधबार संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा उनले दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आग्रह गरे । श्रीलंकामा नेपाली नागरिकले भोगिरहेको ‘भिसा अन अराइभल’ सम्बन्धी समस्या र इलेक्ट्रोनिक ट्राभल अथराइजेसन (ईटीए) प्रक्रियाको जटिलता प्राथमिकताका साथ समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
समितिको बैठकमा सांसद दंगालले भने, ‘सार्क क्षेत्रमा भिसा फ्रि आवागमनको अवधारणा रहे पनि मानव बेचबिखनको जोखिम देखाउँदै नेपालीमाथि लगाइएको प्रतिबन्ध हटाउन राजदूतको भूमिका महत्त्वपूर्ण हुनेछ ।’
उनले नेपाली नागरिकलाई सहज रूपमा श्रीलंका भ्रमण गर्न सक्ने वातावरण बनाउन कूटनीतिक पहल आवश्यक रहेको बताए ।
यसैगरी, काठमाडौं–कोलम्बो सिधा हवाई उडानलाई प्रभावकारी बनाउन तथा भैरहवा–कोलम्बो हवाई मार्गको सम्भावना अध्ययन गर्नुपर्ने प्रस्ताव पनि उनले बैठकमा राखेका छन् ।
सांसद दंगालले पर्यटन प्रवर्द्धन, नागरिक आवागमन सहज बनाउने तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन प्रस्तावित राजदूतले स्पष्ट र प्रभावकारी कार्ययोजना अघि सार्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस