काठमाडौं । सन् २०३० मा आयोजना हुने फिफा विश्वकपको विशेष प्रसारण अधिकार नेटफ्लिक्स इंकले प्राप्त गरेको छ । ओटीटी प्लेटफर्म नेटफ्लिक्सले मंगलबार यससम्बन्धी घोषणा गरेको हो ।
सन् २०३० को विश्वकप फुटबल प्रतियोगिताले विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको १००औँ वार्षिकोत्सव मनाउनेछ । प्रतियोगिताका मुख्य आयोजक राष्ट्रमा स्पेन, मोरक्को र पोर्चुगल रहेका छन् ।
नेटफ्लिक्सले सम्झौताका आर्थिक तथा अन्य सर्तहरू सार्वजनिक गरेको छैन । सम्झौताअनुसार प्रतियोगिताका सबै १०४ खेल प्रत्यक्ष प्रसारण गरिनेछ । खेलअघि, मध्यान्तर र खेलपछि प्रसारण हुने कार्यक्रम, दैनिक खेल समीक्षा तथा प्रतियोगिताको पूर्वसन्ध्यामा विशेष कार्यक्रमसमेत समावेश हुनेछन् ।
नेटफ्लिक्सकी प्रमुख सामग्री अधिकारी बेला बजारीयाले विश्वकपले मानिसहरूलाई एकताबद्ध गर्ने बताउँदै सन् २०३० मा स्पेन र एन्डोराका समर्थकहरूमाझ नेटफ्लिक्समार्फत प्रत्येक खेल पुर्याउन पाउँदा उत्साहित रहेको बताइन् ।
सन् २०३० को फिफा विश्वकप जुन ८ देखि जुलाई २१ सम्म सञ्चालन हुने तय भएको छ ।
नेटफ्लिक्ससँगको साझेदारीबारे फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले पनि खुसी व्यक्त गरेका छन् । उनका अनुसार सन् २०३० को विश्वकप विशेष संस्करण हुनेछ । प्रतियोगितालाई स्पेन र एन्डोराका समर्थकहरूसम्म पुर्याउन नेटफ्लिक्ससँग सहकार्य गरिने उनले बताए ।
समर्थकलाई खेलको अझ नजिक ल्याउनु र सकेसम्म धेरै मानिसलाई प्रतियोगिताको उत्साहमा सहभागी गराउनु साझेदारीको साझा उद्देश्य रहेको ग्राफस्ट्रोमको भनाइ छ ।
फिफा विश्वकप २०३० का मुख्य आयोजकका रूपमा स्पेन, मोरक्को र पोर्चुगल चयन भएका छन् । विश्वकपको शताब्दी उत्सवका अवसरमा उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा पनि एक–एक खेल आयोजना हुनेछन् ।
सन् १९३० को पहिलो विश्वकप उरुग्वेमा आयोजना भएको थियो, जहाँ घरेलु टोलीले उपाधि जितेको थियो । अर्जेन्टिना उक्त प्रतियोगिताको उपविजेता बनेको थियो भने पाराग्वे दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) को सदस्य राष्ट्र हो ।
नेटफ्लिक्सले अमेरिका र क्यानडाका लागि सन् २०२७ र २०३१ को फिफा महिला विश्वकपको विशेष प्रसारण अधिकार पनि प्राप्त गरिसकेको छ ।
अमेरिकामा महिला विश्वकपका खेल अंग्रेजी र स्पेनी भाषामा तथा क्यानडामा अंग्रेजी र फ्रेन्च भाषामा प्रसारण गरिनेछ ।
सन् २०२७ को प्रतियोगिताअघि नेटफ्लिक्सले यसै वर्ष डिसेम्बर ११ मा फिफा महिला विश्वकप २०२७ को अन्तिम चरणको समूह विभाजन (फाइनल ड्र) कार्यक्रमसमेत प्रसारण गर्ने जनाएको छ ।
नेटफ्लिक्सकी बजारीयाका अनुसार फिफासँगको विस्तारित साझेदारीले विश्वका प्रमुख खेलकुद प्रतियोगिताका महत्त्वपूर्ण क्षणहरू समर्थकहरूमाझ पुर्याउने कम्पनीको प्रतिबद्धता झल्काउँछ ।
प्रतिक्रिया दिनुहोस