विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्त तथा मान्यजनका घरमा जाने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।
बडादसैँको फूलपाती, महाअष्टमी र महानवमीको तुलनामा टीकाको शुभसाइतपछि आज सडकमा सवारीसाधनको चाप बढेको हो। सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या बढेसँगै विभिन्न स्थानमा भीडभाडसमेत देखिन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उपत्यका भित्रिने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारीसाधन सामान्य अवस्थामा सञ्चालन भइरहेका छन्।
“टीकाका दिन आज आफन्तकहाँ आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारीसाधन बाक्लो देखिएको छ,” उनले भने।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्ध रूपमा ट्राफिक प्रहरी परिचालन गरिएको सुवेदीले बताए। सम्भावित जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै ट्राफिक नियम पालना गराउन नियमित जाँच भइरहेको उनले जानकारी दिए।
दसैँ मनाउन गाउँघर पुगेका सर्वसाधारण आफ्नो पेसा तथा व्यवसायका सिलसिलामा काठमाडौं फर्कने क्रम पनि आजैदेखि सुरु भएको छ। यससँगै आगामी दिनमा उपत्यका भित्रिने सवारीसाधन र यात्रुको चाप थप बढ्ने अनुमान गरिएको छ।
नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारीसाधनको यान्त्रिक परीक्षण, तीव्र गति नियन्त्रण तथा चालकले मादक पदार्थ र लागुऔषध सेवन गरे–नगरेको परीक्षणलाई निरन्तरता दिइएको ट्राफिक प्रहरी उपरीक्षक सुवेदीले बताए।
ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको उनको भनाइ छ।
दसैँ मनाएर काठमाडौं फर्कने यात्रुको चाप बढ्ने भएकाले प्रमुख नाका तथा राजमार्गमा सोहीअनुसार ट्राफिक व्यवस्थापन गरिने प्रहरीले जनाएको छ। सुरक्षा निकायको अनुमानअनुसार दसैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएका छन्।
प्रतिक्रिया दिनुहोस