२०८३, कार्तिक ७ गते

शुक्रवार, कार्तिक ७ गते २०८३

थोरङला पास हुँदै दुई सातामा ७७२ विदेशी पर्यटक मुस्ताङ भित्रिए

शुक्रवार, कार्तिक ७ २०८३११:५०

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टका अनुसार भारी हिमपातपछि दुई साताको अवधिमा सार्क राष्ट्रका ४३ जना र अन्य राष्ट्रका ७२९ जना विदेशी पर्यटक मुस्ताङ आएका हुन्।

समुद्री सतहबाट पाँच हजार ४१६ मिटरको उचाइमा रहेको थोरङला पास अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख आकर्षण हो। यो मार्ग हुँदै विदेशी पर्यटक मनाङबाट मुस्ताङको मुक्तिनाथसम्म पुग्ने गर्छन्। साहसिक पदयात्राका लागि प्रसिद्ध यो मार्ग चुनौतीपूर्ण र जोखिमपूर्णसमेत मानिन्छ।

गत असोज ११ गतेको भारी वर्षा र हिमपातका कारण अवरुद्ध भएको थोरङला पास पदमार्गमा जमेको हिउँ पन्छाएपछि विदेशी पर्यटक मुस्ताङ आउन थालेका हुन्। मुस्ताङका पर्यटन व्यवसायीले थोरङ फेदीमाथिको पदमार्गमा जमेको हिउँ पन्छाएर आवागमन सहज बनाएका थिए। मनाङतर्फ पनि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायीको सहकार्यमा हिउँ हटाइएको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीका अनुसार थोरङला पासको पदमार्ग सफा गरिएपछि बिहीबारसम्म ७७२ जना विदेशी पर्यटक मुस्ताङ आइपुगेका छन्।

मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पार गर्ने पर्यटकीय याम सुरु भएसँगै मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या बढिरहेको बताए।

पर्यटकीय यामको सुरुआतमै भारी हिमपात भएपछि थोरङला पास क्षेत्रको पदमार्ग अवरुद्ध भएको थियो। मनाङ र मुस्ताङका पर्यटन व्यवसायी तथा सुरक्षाकर्मीले दुवैतर्फको पदमार्गमा जमेको हिउँ हटाएपछि पर्यटकको आवागमन सहज बनेको गुरुङले बताए।

उनका अनुसार थोरङला पास हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन्। बेनी–जोमसोम सडकमार्गबाट आउने पर्यटकको सङ्ख्या घटे पनि थोरङला पास हुँदै आउने विदेशी पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रका अधिकांश होटलमा पर्यटक भरिन थालेका छन्।

गुरुङका अनुसार यस वर्ष नोभेम्बरको अन्त्यसम्म मनाङ हुँदै थोरङला पास पार गरेर विदेशी पर्यटक मुस्ताङ आउने मुख्य याम रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij