२०८३, कार्तिक ८ गते

शनिवार, कार्तिक ८ गते २०८३

यमनमा संयम अपनाउन र राजनीतिक समाधान खोज्न राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह

शुक्रवार, कार्तिक ७ २०८३०३:३९

यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले साउदी अरबका नागरिक लक्ष्यलाई निशाना बनाएर हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताएका छन्। यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव थप बढाइरहेको उल्लेख गर्दै उनले यमनमा राजनीतिक समाधान आवश्यक रहेकोमा जोड दिएका छन्।

यसैबीच, हुथी आन्दोलनलाई युरोपेली सङ्घ (इयु) को आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गर्ने युरोपेली संसद्को प्रस्तावलाई यमनको विदेश मन्त्रालयले स्वागत गरेको छ। मन्त्रालयले उक्त प्रस्तावलाई नागरिकको सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भनेको छ।

बिहीबार पारित प्रस्तावमा युरोपेली संसद्ले हुथीहरूका आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन तथा मानवीय कानुनको उल्लङ्घन भनेको छ। यस्ता आक्रमणले यमनी नागरिकको मृत्यु र विस्थापन बढाउनुका साथै मानवीय सङ्कटलाई गम्भीर बनाएको प्रस्तावमा उल्लेख छ। संसद्ले इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको पनि निन्दा गरेको छ।

इयुकी विदेश मामिला तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कल्लासको प्रस्तावपछि संसद्ले हुथी आन्दोलनका राजनीतिक तथा सैन्य शाखा, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गरेको हो। साथै, आन्दोलनका आर्थिक स्रोत रोक्न तथा त्यसलाई सहयोग गर्ने पक्षका कोष र सम्पत्ति रोक्का गर्न पनि आह्वान गरिएको छ।

यसैबीच, इराकले साउदी अरबमाथि भएका आक्रमणको निन्दा गर्दै आफ्नो भूभाग कुनै पनि पक्षले अर्को देशमाथि आक्रमण गर्न प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ।

समाचार संस्था अलजजिराका अनुसार इराकका विदेशमन्त्री फुआद हुसेनले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गरेका थिए। साउदी विदेश मन्त्रालयका अनुसार वार्ताका क्रममा हुसेनले आक्रमण तथा त्यसबाट नागरिक र सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको निन्दा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij