नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व भूराजनीतिमा आएको परिवर्तनको असर नेपालमा अझ बढी परेको दाबी गरेका छन् ।
पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल पनि भूराजनीतिक चलखेल र विश्व परिस्थितिमा आएको परिवर्तनको प्रभावबाट अछुतो नरहेको बताए ।
‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु नेपालमा अझ बढी असहज परिस्थिति सिर्जना भइरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौँ,’ उनले भने ।
आफ्नो पार्टी देशमा भएका विगतका परिवर्तनमा सहभागी भएकाले वर्तमान परिस्थितिमा अझ गम्भीर र संवेदनशील भएर अघि बढ्नुपर्ने प्रचण्डले बताए ।
‘हाम्रो पार्टीले विगतमा देशका सबै जनताको सार्वभौमिकता तथा उत्पीडित वर्ग र समुदायको हक–अधिकारका लागि त्याग, तपस्या र बलिदानमार्फत युगान्तकारी उपलब्धि हासिल गर्न सम्भव भएको पृष्ठभूमि बोकेको छ,’ उनले भने ।
विश्वमा देखिएको नयाँ भूराजनीतिक चलखेल र त्यसको प्रभावले नेपालको राजनीतिमा पनि असाधारण परिस्थिति सिर्जना गरेको उल्लेख गर्दै प्रचण्डले यसप्रति आफ्नो पार्टी सबैभन्दा बढी गम्भीर, संवेदनशील र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस