बालेन (बालेन्द्र शाह) को गीत ‘जय महाकाली’ ले युट्युबमा नयाँ कीर्तिमान कायम गरेको छ। २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिने नेपाली गीत बन्न सफल यो गीतले शुक्रबार राति ८ बजे रिलिज भएको २४ घण्टामै ३७ लाख ४३ हजार ८१७ भ्यूज प्राप्त गरेको छ।
यो उपलब्धि नेपाली संगीत क्षेत्रमा अहिलेसम्मकै रेकर्ड हो। गीतले रिलिज भएको मात्र ३ घण्टामै १० लाख भ्यूज पार गरेर अर्को कीर्तिमान समेत बनाएको छ। आइतबार दिउँसो २ बजेसम्म भने गीतले ४८ लाख ८८ हजार ८६६ भ्यूज पार गरिसकेको छ।
प्रधानमन्त्रीमा सपथ लिनुअघि बालेनले आफ्नो युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका थिए। यसअघि दुर्गेश थापा को ‘जाने भए जाम माया’ ले २४ घण्टामा १६ लाख भ्यूजको रेकर्ड बनाएको थियो, जुन बालेनको गीतले केही घण्टामै तोड्न सफल भयो।
उल्लेखनीय कुरा के छ भने ‘जय महाकाली’ गीत १२ वर्षअघि नै सार्वजनिक भएको थियो, जसलाई अहिले रि–मास्टर्ड गरेर पुनः रिलिज गरिएको हो। साथै, त्रिशला गुरुङ र रचना दाहाल सँगको सहकार्यमा बनेका बालेनका थप दुई गीत पनि चाँडै सार्वजनिक हुने तयारीमा छन्।
प्रतिक्रिया दिनुहोस