नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपका लागि छनोट भएको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका लागि राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।
नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल तयार गरेको थियो।
नेपालको इनिङ्समा आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको दोस्रो शतक हो।
आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अर्जुनले ४३ रन बनाए। त्यसपछि आसिफले इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रन तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। रोहितले ४० रन बनाए।
त्यस्तै गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिए। खुजाइमा बिन तनभिरले २ विकेट लिँदा हैदर अली र अदीब उसमानीले समान १–१ विकेट लिए।
यस जितसँगै नेपालले एसीसी प्रिमियर कपको उपाधि मात्र जितेन, आगामी एसिया कपमा आफ्नो स्थानसमेत सुरक्षित गरेको छ।
नेपालले यसअघि सन् २०२३ मा भएको एसीसी प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गर्दै उपाधि जितेको थियो। पछिल्लो जितसँगै नेपालले यूएईविरुद्ध प्रिमियर कपको फाइनलमा लगातार दोस्रोपटक सफलता हात पारेको छ।
प्रतिक्रिया दिनुहोस