लुम्बिनी प्रदेश सांसद रेखा शर्मा तीन दिन हिरासतमै रहने भएकी छिन् । जिल्ला अदालत काठमाडौैंले शर्मालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
न्यायाधीश नवराज दुलालको इजलासले सोमबार (चैत १६) मा शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीविरूद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको कसुरमा अनुसन्धानका लागि प्रहरीले म्याद थपको माग गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बहसको क्रममा मिसिल कागज जलेर नष्ट भएको भन्दै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था रहेको बताएको थियो ।
आदेशमा भनिएको छ, ‘‘कार्यालयमा भएका मिसिल कागज जलेर नष्ट भएको केही समयका लागि थुनामा राखी प्रमाण झिकाएर बुझी निर्णय गरिने भन्ने इजलास समक्ष अनुरोध हुँदा सो समेतलाई ध्यानमा राखी शर्मालाई तीन दिनको म्याद थप अनुमति प्रदान गरिएको छ ।’’
शर्मालाई आइतबार मध्यरातमा धुम्बाराहीबाट प्रहरीले पक्राउ गरेको थियो । बालिकामाथि हिंसाको आरोपमा प्रहरीमा जाहेरी परेको २२ महिनापछि उनी पक्राउ परेकी हुन् ।
२०८१ जेठमा काठमाडौंं महानगरले दास राख्न नपाउने कसुरविरूद्ध कारबाहीका लागि शर्माविरूद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसबखत प्रहरीले अदालतबाट पक्राउको आदेश नआएको भन्दै शर्मालाई गिरफ्तार गरेको थिएन
प्रतिक्रिया दिनुहोस