२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

सार्वजनिक बिदामा पनि हुलाक सेवा सञ्चालन, भन्सार र बैंकसमेत खुल्ने तयारी

शुक्रवार, चैत्र २० २०८२१२:१९

काठमाडौँ– अब सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउन तथा विदेशबाट आएको सामान छुटाउन सकिने भएको छ।

गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारले यसअघि पनि बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक बन्द हुँदा जाँचपासमा समस्या हुँदै आएको थियो।

अन्तरनिकाय समन्वय अभावका कारण सेवा प्रभावित भएको गुनासो बढेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो देखाएको थियो। सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गर्दै बिदाका दिन पनि सहज सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार, हुलाकमार्फत अन्तर्राष्ट्रिय कुरियर सेवा बिदाका दिन पनि सञ्चालन भइरहे पनि भन्सार शाखा बन्द हुँदा समस्या हुने गरेको थियो। अब यो समस्या समाधानका लागि आवश्यक समन्वय भइरहेको उनले बताइन्।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदामा समेत सञ्चालन गर्ने व्यवस्था मिलाइँदै रहेको जानकारी दिए।

यसैगरी, राजस्व भुक्तानीका लागि त्यहाँ रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा पनि बिदाका दिन खुला राख्ने तयारी भइरहेको छ।

गोश्वारा हुलाक कार्यालयका अनुसार गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण तथा रजिस्ट्री चिट्ठी र बुक पोस्ट विदेशबाट आएका थिए। त्यस्तै, निर्यात भएका यस्ता सामग्रीको संख्या करिब ११ हजार ७०० रहेको छ।

यी गतिविधिबाट करिब २९ लाख ४ हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको जनाइएको छ।

सार्वजनिक बिदामा पनि सेवा सञ्चालन हुँदा सेवाग्राहीलाई सहजता हुने र कार्यालयको कार्यसम्पादन तथा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij