काठमाडौँ– सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बनेसँगै विवादास्पद व्यापारी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सोमबार भट्टलाई कालोसूचीमा राखिएको हो। सम्बन्धित अधिकारीहरूले बताएका छन् कि उनी भाग्ने सम्भावना रहेकोले यस्तो निर्णय गरिएको हो। अब भट्टले विदेश यात्रा गर्नुअघि सरकारले पूर्व अनुमति लिनुपर्नेछ।
अध्यागमनको कालोसूचीमा परेसँगै भट्टको विदेश यात्रा स्वतः रोकिएको छ। यस्तो सूचीमा रहेका व्यक्तिहरूले सम्बन्धित निकाय वा नेपाल सरकारको अनुमति बिना देश बाहिर जान पाउँदैनन्।
भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्। उनमाथि सत्ता–शक्तिमा रहेका राजनीतिक दलका नेता तथा सार्वजनिक पदाधिकारीसँग निकट सम्बन्ध बनाएर सार्वजनिक खरिद, जलविद्युत् आयोजना, बैंक तथा बिमा कम्पनीका लाइसेन्स र कर नीतिमा प्रभाव पार्ने प्रयास गरेको आरोप लाग्दै आएको छ।
२०७९ मंसिरदेखि नै भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा थिए। त्यसक्रममा २०७९ पुसमा प्रारम्भिक बयान पनि लिइएको थियो। तर त्यसबेला अनुसन्धान दबाइएको आरोप लाग्दै आएको थियो। पछिल्लो राजनीतिक परिवर्तनसँगै उक्त फाइल पुनः सक्रिय बनाइएको स्रोतले जनाएको छ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले २०७९ मै भट्टसँग सम्बन्धित शंकास्पद आर्थिक कारोबारबारे विवरण पठाएको थियो। विवरणअनुसार उनका खातामा अर्बौँ रुपैयाँ बराबरको असामान्य कारोबार भएको देखिएको छ, जसले थप अनुसन्धान आवश्यक भएको संकेत गरेको थियो।
भट्ट र उनको कम्पनी इन्फिनिटी होल्डिङ्समाथि सुरक्षा निकायका लागि हतियार खरिद, जलविद्युत् आयोजना, कर छुट तथा वित्तीय नीतिमा प्रभाव पार्ने लगायतका विवादित प्रकरणमा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ।
प्रतिक्रिया दिनुहोस